‘कक्षा १२ को परीक्षा सरेको छैन’

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको जनाएको छ। परीक्षा सरेको भन्ने हल्ला सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यसबारे सूचना जारी गर्दै स्पष्ट पारेको हो।

सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर समेत राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना फैलन थालेपछि बोर्डले त्यसको खण्डन गरेको हो।

भ्रामक सूचनाको भर नपर्न र आधिकारिक वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन बोर्डले आग्रह गरेको छ।

बोर्डले प्रकाशिन गरेको सूचनामा विद्यार्थीहरूलाई धैर्यपूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ।

‘बोर्डको आधिकारिक वेबसाइटबाहेक अन्यत्रको समाचार तथा सूचनामा विश्वास नगरी परीक्षाको तयारीलाई धैर्यतापूर्वक निरन्तरता दिनहुन सम्पूर्ण विद्यार्थीहरूमा अनुरोध छ,’ बोर्डले भनेको छ।

परीक्षाजस्तो सम्वेदनशील विषयमा बोर्डको लेटरप्याडमा अध्यक्षको स्क्यान हस्ताक्षर राखी अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्नेउपर साइबर कानुनअनुसार आवश्यक कारबाही लागि प्रक्रिया अगाडि बढाइएको बोर्डको भनाइ छ।

सामाजिक सञ्जालहरुमा शिक्षक–कर्मचारीको जारी आन्दोलनका कारण परीक्षा सरेको भन्ने हल्ला आज शुक्रबार बिहानैदेखि फैलिरहेको छ। त्यही आधारमा कतिपयले परीक्षा सरेको भन्ने जानकारी सञ्जालमा राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *