सुनचाँदीका गहना टल्काइदिने भन्दै ठग्दै

विराटनगर। सुन चाँदीको गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई जना भारतीय नागरिक संखुवासभामा पक्राउ परेका छन्। स्थानीयको घरआँगनमा पुगेर गहना टल्काइदिने भन्दै ठगी गर्न सक्रिय उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा भारत, बिहारको बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र समस्तीपुरका ३५ वर्षीय गंगा विष्णु साह छन्।

प्रहरीका अनुसार कुमारले संखुवासभाको खाँदबारी नगरपालिका–९ ढुंगेधारा टोलकी अञ्जना थापा मगरको घरमा पुगेर सुनचाँदीको गहना टल्काइदिने बताएका थिए।

त्यस क्रममा तेजाब जस्तो तरल पदार्थ भएको बटुकामा सुनको सिक्री हालेका थिए। आगोमा राखेर केही समय उमालेपछि सिक्री फिर्ता दिएका थिए।

उनको गतिविधि शंकास्पद लागेपछि सिक्री जाँच गर्दा पहिलेको भन्दा कम तौल पाइएपछि मगरले प्रहरीलाई जानकारी गराएकी थिइन्।

जानकारी पाएलगत्तै पुगेको प्रहरी टोलीले कुमारलाई नियन्त्रणमा लिएको थियो। उनीसँग सोधपुछका क्रममा साथी पनि गाउँमा आएको जानकारी प्रहरीले पाएको थियो।

त्यसपछि खोजी गर्दा साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट विभिन्न खाले रसायन, नगद, बैंकका एटिएम कार्डहरु, मोबाइल फोन लगायत सामग्री प्रहरीले बरामद गरेको छ।

दुवैलाई अदालतमा उपस्थित गराएर ७ दिनको म्यान थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। कोही त्यसरी ठगिएको भए सूचना दिन प्रहरीले आग्रह गरेको छ।

यसरी ठग्नेहरु संखुवासभामा मात्र होइन अन्यत्र पनि सक्रिय पाइएको छ। केही समयअघि झापाका विभिन्न ठाउँ, विराटनगर र मोरङका विभिन्न ठाउँ, इलामका गाउँ, धनकुटा, संखुवासभा, उदयपुरका विभिन्न स्थान लगायत क्षेत्रमा पनि यसैगरी ठग्ने भारतीय नागरिक पक्राउ परेका थिए।

प्रहरीले त्यसरी आउनेहरुबाट जोगिन र सतर्क रहन आग्रह गरेको छ। कोही नयाँ व्यक्ति गाउँघरमा आएर शंकास्पद गतिविधि गरेमा तत्काल प्रहरीमा खबर गर्न प्रहरीको अनुरोध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *