हतकडी लगाएर दुर्गा प्रसाईंलाई काठमाडौं लगियो
झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाको भद्रपुर विमानस्थलबाट काठमाडौंतर्फ लगिएको छ । उनलाई हतकडी लगाएर जहाजबाट काठमाडौं लगिएको हो।
बुद्ध एयरको जहाजमा प्रसाईंलाई काठमाडौं पठाइएको झापा प्रहरीले जनाएको छ । राजावादी आन्दोलनका ‘कमाण्डर’ प्रसाईं काठमाडौंको हिंसात्मक प्रदर्शनपछि भारततिर भागेका थिए।
उनी भारतको आसामबाट बिहीबार पक्राउ परेका हुन्। उनलाई काँकडभिट्टा नाका हुँदै शुक्रबार बिहान झापा ल्याइएको थियो। केहीबेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
राजसंस्था पुनस्र्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले काठमाडौंको तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक २ जनाको मृत्यु भएको थियो। अराजक बनेका प्रदर्शनकारीले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड एवं आगजनी गरेका थिए।
प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीलाई नै पेलेर गाडी चलाउँदै अघि बढेका प्रसाईं एकाएक सम्पर्कविहीन बनेका थिए। प्रसाईंसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खड्कालाई पनि उनीसँगै काठमाडौं लगिएको छ।
