शिक्षकहरू टर्च बालेर काठमाडौंको सडकमा उत्रने

काठमाडौं। आफ्ना माग पूरा गराउन दबाबमूलक आन्दोलन गर्दै आएका शिक्षकहरूले मंगलबार टर्च बालेर जुलुस निकाल्ने भएका छन्।

काठमाडौंको माइतीघर मण्डलाबाट बिहान ११ बजे जुलुस सुरु हुने आन्दोलनको अगुवाइ गरिरहेको नेपाल शिक्षक महासंघले जनाएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार काठमाडौं केन्द्रित आन्दोलनको सातौं दिन मंगलबार मोबाइलको टर्च बालेर जुलुस प्रदर्शन गर्ने तय भएको छ।

‘शिक्षा ऐन कता हरायो, कता गयो गयो’ टर्च बालेर गरिने प्रदर्शनबारे सुवेदीले भने, ‘त्यसैले हामी त्यसलाई खोज्नका लागि टर्च बालेर सामूहिक रुपमा हिंड्ने छौं।’

यसअघि सोमबार देशका विभिन्न जिल्लाबाट भेला भएका शिक्षकहरुले कालो मास्क लगाएर मौन जुलुस प्रदर्शन गरेका थिए।

महासंघले प्रदर्शनमा सहभागी हुन तोकिएको पोशाकमा आफ्नो परिचयपत्र सहित सहभागी हुन आग्रह गरेको छ।

प्रदेशअनुसार सम्बन्धित जिल्लाका शिक्षकहरू भेला भइ सबै प्रदेशबाट सहभागिता हुने महासंघले जनाएको छ।

‘मेरो आन्दोलन मेरो सहभागिता’, ‘बलियो उपस्थिति, बलियो आन्दोलन, बलियो आन्दोलन, बलियो उपलब्धि’ जस्ता नारासहित चैत २० गतेबाट महासंघको अगुवाइमा काठमाडौं केन्द्रित आन्दोलनमा शिक्षकहरू होमिएका हुन्।

यसबीच, सरकारले पटक पटक वार्ताका लागि आह्वान गरे पनि पहिले गरिएको सहमति पालना नगरेको भन्दै महासंघले वार्ता अस्वीकार गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *