विद्यार्थीको सिर्जना, ‘हाम्रो सुकुना राम्रो सुकुना’
बिराटनगर। मोरङको सुन्दरहरैंचा-१० मा रहेको सुकुना माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयको सकारात्मक पक्ष र विद्यार्थी जीवनमा शैक्षिक गुणस्तर सुधारसँग सम्बन्धित म्युजिक भिडियो बनाएका छन्।
‘हाम्रो सुकुना राम्रो सुकुना’ शीर्षकको उक्त म्युजिक भिडियो कक्षा १२ सिभिल इन्जिनियरिङतर्फ अध्ययनरत एन्जल मिश्रको अगुवाइमा बनाइएको हो। गीत लेखन र निर्देशन मिश्रले नै गरेका हुन्। गीतमा स्वर पनि उनैको छ।
भिडियो निर्माणमा विद्यालय प्रशासनले सहयोग गरेको छ। म्युजिक भिडियोमा विद्यालयकै विद्यार्थीहरू कलाकारका रूपमा प्रस्तुत भएका छन्।
कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा हाल ४ हजार ९६ जना विद्यार्थी अध्यानरत छन्।
भिडियोमार्फत विद्यालयको सकारात्मक पक्षहरू उजागर गर्नुका साथै विद्यार्थीको शैक्षिक जीवनमा गुणस्तर सुधारका विषयहरू समेटिएको छ। यस प्रयासले विद्यालयको छवि सुधार गर्नुका साथै विद्यार्थीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी हुन प्रोत्साहित गरेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले बताए।
