पालिकाले शिक्षा मन्त्रीलाई भन्यो, ‘शिक्षकका माग पूरा गरौं’
विराटनगर। मोरङको जहदा गाउँपालिकाले आन्दोलनरत् शिक्षकहरुको माग पूरा गर्न आग्रह गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर उक्त पालिकाले शिक्षकका माग पूरा गर्न आग्रह गरेको हो।
जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन रहेको जनाएका हुन्।
शिक्षक आन्दोलनबाट पालिकामा भर्ना अभियान लगायत शैक्षिक कार्यक्रमहरु प्रभावित भएको पालिकाले जनाएको छ।शिक्षा ऐन जारी नहुँदा शिक्षकहरु चैत २० गतेदेखि फेरि आन्दोलनमा उत्रिएका छन्।
पालिकाले पत्रमा लेखेको छ, ‘विद्यालयका नियमित कामकाज तथा गाउँपालिकाका शैक्षिक कार्यक्रममा पनि प्रत्यक्ष प्रभाव परेको र शैक्षिक सत्र २०८२ को भर्ना अभियान समेत तोकिएको समयमा सचालन गर्न नसकिने अवस्था सिर्जना भएकोले शिक्षक तथा कर्मचारीहरूका जायज मागहरुमा समर्थन रहेको व्यहोरा जनाउँदै यथोचित मागहरु सम्बोधन गरी उच्च मनोबलका साथ काममा फर्कने वातावरण निर्माणका लागि अनुरोध छ।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायत माग राखेर नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका शिक्षकहरु आन्दोति छन्।
काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुले चैत २५ गतेदेखि आम शैक्षिक हडताल घोषणा गरेका छन्। शिक्षकहरुको आन्दोलनले एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण समेत प्रभावित हुने अवस्था छ।
