गाडी खस्दा ३ जनाको मृत्यु
अर्घाखाँचीको मालारानीमा भएको दुर्घटना
सोलुखुम्बु। अर्घाखाँची र सोलुखुम्बुमा भएका दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सोलुखुम्बुको सोताङ गाउँपालिका-२ जुकेमा बोलेरो गाडी दुर्घटना हुँदा सोताङ-५ की अन्दाजी ३२ वर्षीया सरिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सडकबाट करिब सय मिटर तल भीरमा अड्किएकी उनलाई उद्धार गरेर उपचारका लागि सोताङ प्राथमिक अस्पताल लगिएको थियो। उपचारका क्रममा राति १० बजेतिर उनको मृत्यु भएको हो। मृतकका १८ महिने छोरा रेवन राई घाइते भएका छन्। गाडीमा रहेका अरु दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
जुकेतर्फ गइरहेको प्र ३–०१–०२४ च ६८१४ नम्बरको बोलेरो आइतबार साँझ दुर्घटनामा परेको हो। जुकेस्थित भित्री कच्ची सडक खण्डमा रोकेर सामान झार्ने क्रममा उक्त बोलेरो चिप्लिएर सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।
बोलेरो र चालक ४३ वर्षीय प्रेम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। कच्ची सडकको ओरालो र जोखिमपूर्ण भूबनोटका कारण चिप्लिएर बोलेरो दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यस्तै, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। लु २ च २९९० नम्बरको गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका चालक दिलिप खनाल र बालकृष्ण रिजाललाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो। चिकित्सकले दुवैको मृत्यु भएको घोषणा गरेका थिए
