बार एसोसिएसनको नेतृत्व चयनका लागि मतदान हुँदै
विराटनगर। कानुन व्यवसायीहरुको साझा संस्था नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज शनिबार मतदान भइरहेको छ। मतदानको समय अपरान्ह ४ बजेसम्मलाई तोकिएको छ।
निर्वाचनमा ९ हजार ९ सय ५७ जनाले मतदान गर्न पाउने छन्। नयाँ कार्यसमितिका लागि अध्यक्षमा ५ जनासहित ५७ जनाको उम्मेदवारी परेको छ। काठमाडौं र बाहिर गरेर ३६ वटा मतदान केन्द्र तोकिएको छ।
बारको अध्यक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ र वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रसहित ५ जना प्रतिस्पर्धामा छन्। श्रेष्ठले व्यावसायिक कानुन व्यवसायी समूहबाट र मिश्रले वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट प्यानलै बनाएर उम्मेदवारी दिएका हुन्।

अन्य ३ जना स्वतन्त्र उम्मेदवार हुन्। बारको अध्यक्षका लागि समूहगत २ र स्वतन्त्र ३ जना गरी ५ जनाको उम्मेदवारी परेको हो। वरिष्ठ अधिवक्ताहरु श्रेष्ठ र मिश्रसहित अधिवक्ता राजु कैती, उज्वल घिमिरे र आषिश पौडेलले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
मुख्य प्रतिस्पर्धा श्रेष्ठ र मिश्रबीच हुने अनुमान गरिएको छ। श्रेष्ठको समूहबाट अधिवक्ता यज्ञमणि न्यौपाने र मिश्रको समूहबाट वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला महासचिवका उम्मेदवार छन्।

