दुर्गमका लागि सीटी स्क्यान मेसिन किन्न मन्त्रीले रोके
विराटनगर। कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जिल्ला अस्पताल संखुवासभामा सीटी स्क्यान मेसिन खरिद प्रक्रिया रोक्न निर्देशन दिएका छन्। प्रदेश सरकारले उक्त मेसिन खरिदका लागि यो वर्ष ७ करोड रुपैयाँ छुट्याएको थियो।
गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ खरिद गर्न अपुग भएको थियो। जिल्ला अस्पतालमा संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बिरामी उपचारका लागि आउँछन्। सामान्य दुर्घटना भएका बिरामी सीटी स्क्यानका लागि धेरै रकम खर्चेर सुविधा सम्पन्न अस्पतालमा पठाउनु पर्ने बाध्यता छ।
मेसिन खरिद कार्यक्रम कार्यन्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्र मार्फत जानकारी गराएको संखुवासभा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यले बताए।
जिल्लाबाटै सेवा सञ्चालन गर्न सके सर्वसाधारणले ठूलो रकम खर्च गरेर अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य हुने समन्वय प्रमुख शाक्यले बताए। प्रदेशका स्वास्थमन्त्री राईको चैत १७ को मन्त्रीस्तरीय निर्णयले सीटी स्क्यान मेसिन खरिद कार्यक्रम कार्यान्वयन नगर्नु भनेर अस्पताललाई पत्राचार गरेको छ।
राजेन्द्र कार्की स्वास्थ्यमन्त्री भएको बेला दुर्गम हिमाली जिल्लामा मेसिन खरिदका लागि बजेट विनियोजन भएको थियो। सर्वदलीय टोलीले मेसिन खरिद प्रक्रिया अघि बढाउन प्रदेश सरकारसँग आग्रह गरेको थियो।
सर्वदलीय टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र मन्त्रीलाई फागुन २ गते भेटेर त्यस्तो आग्रह गरेको थियो। भेटका क्रममा दुवैले चाँडै खरिद प्रक्रिया अघि बढाउने आश्वासन दिएका थिए।
