मोरङले जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा भएको चौथो संस्करणको ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि साविक विजेता मोरङले जितेको छ।

बिहीबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै  मोरङले लगातार तेस्रो पटक उपाधि जितेको हो। टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८१ रन जोडेको थियो।

सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले अविजित १५ रनको योगदान दिइन्। मोरङकी प्लेयर अफ फाइनल क्रितिषा धामीले ५ विकेट लिइन्। उनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ९ रन दिइन्। धामीबाहेक बन्दना राजवंशीले ३ विकेट लिए।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो। मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन्। सप्तरीकी साक्षी यादवले १ विकेट लिँदा अपेक्षा यादवले पनि १ विकेट लिइन्।

प्रतियोगिताको प्लेयर अफ सिरिज सिरहाकी सरस्वती चौधरी घोषित हुँदा उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर घोषित भइन्।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना भएको हो।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *