धनकुटा सदरमुकाम नजिकै बनमा आगो, बस्तीतिर सर्दै
धनकुटा। धनकुटा सदरमुकाम नजिक जंगलमा आगो लागेको छ। घेल्पे र बडहरे सामुदायिक वनमा आगो लागेको हो।
आगो फैलिएर बस्तीतर्फ बढिरहेकाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। कतिपय सुरक्षित स्थलतर्फ गइरहेका छन्।
धनकुटा नगरपालिका–७ मा पर्ने सामुदायिक वनमा लागेको आगो टोड्के र सितलपाटी बस्तीतर्फ बढिरहेको छ।
वडा ५ को बडहरे सामुदायिक वनमा लागेको आगो भूसंरक्षण कार्यालय मुनिबाट बालमन्दिर टोलबस्तीतिर फैलँदै गएको छ।
धनकुटा नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगो बस्तीमा प्रवेश गरे ठूलो क्षति हुने जोखिम रहेकाले स्थानीय बासिन्दा भयभीत बनेका छन्।
आगो बढ्दै गएकाले बस्ती जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। उनका अनुसार आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लागिरहेका छन्।
