दुर्गा प्रसाईं भाग्न प्रयोग गरिएको गाडी इटहरीमा फेला
सुनसरी। काठमाडौंको तीनकुनेमा भएको आन्दोलनका क्रममा बढेको तनावपछि माघ १५ गते साँझदेखि ‘बेपत्ता’ भएका दुर्गा प्रसाईंलाई प्रहरीले अझै भेट्न सकेको छैन। खोजी भइरहे पनि उनको पत्तो लागेको छैन।
काठमाडौंबाट बाहिरिने क्रममा उनले प्रयोग गरेको भनिएको स्कारपियो गाडी भने इटहरीमा फेला परेको छ। बागमती बिएबी ४२०८ नम्बरको गाडी फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ।
दुर्गा प्रसाईंको खोजीमा काठमाडौंबाट आएको प्रहरी टोलीले उक्त गाडी फेला पारेको हो। गाडी काठमाडौं लगिएको छ।
प्रहरीले उक्त गाडीमा चढेर प्रसाईं पूर्वतिर आएका हुन् होइनन् भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ। विराटनगर हुँदै बाहिरिए वा झापातिरबाट भारततिर गए भन्ने कोणबाट पनि अनुसन्धान भइरहेको प्रहरी स्रोतले उल्लेख गरेको छ। गाडी धनीलाई नियन्त्रणमा लिएको बताइए पनि यसबारे प्रहरीले केही खुलाएको छैन।
यसैबीच, काठमाडौंबाट आएको प्रहरी टोलीले तीनकुने घटनामा संलग्न भएको आरोपमा झापाबाट ४ जना र सुनसरीबाट १ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
चैत १५ गते राजावादीले गरेको प्रदर्शनमा प्रसाईं ‘जनकमान्डर’ तोकिएका थिए। उनकै नेतृत्वमा भएको प्रदर्शन अराजक बन्दा हिंसात्मक गतिविधि भएको थियो। त्यस क्रममा दुई जनाको मृत्यु भएको थियो भने व्यापारिक भवन, पसल लगायतमा तोडफोड र आगजनी भएको थियो।
