कारमा ३ सय किलो गाँजा ओसार्ने पक्राउ

धनकुटा। साँगुरीगढीमा एउटा कारभित्र ठूलो परिमाणमा लागुऔषध गाँजा भेटिएको छ। विराटनगर घर भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार-रवि-राँके सडक खण्डमा को १ च ३४७८ नम्बरको मारुती कारबाट ३ सय किलो गाँजा बरामद भएको हो।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार मंगलबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा निस्किएको टोलीले कार नियन्त्रणमा लिएर जाँच गरेको थियो।

कालो प्लाष्टिकले बेरेको १० पोका गाँजा कारबाट बरामद भएको प्रहरीको भनाइ छ। गाँजा बरामद भएसँगै कारलाई नियन्त्रणमा लिएर प्रहरीले चालक विराटनगर महानगरपालिका–१५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई पक्राउ गरेको छ।

साहलाई जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखिएको छ। उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *