‘व्यवसायलाई प्रविधिसँग जोडेर अघि बढाउनुपर्छ’
विराटनगर। ‘श्रम संसार वेब पोर्टल’ प्रवर्द्धनको लागि निजी क्षेत्र तथा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ। विराटनगरको होटल श्रीकृष्णमा आयोजित कार्यक्रममा सरोकारवाला संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
साना तथा मझौला व्यवसायी महासंघ मोरङका संस्थापक अध्यक्ष दिनेशभक्त श्रेष्ठको अध्यक्षता कार्यक्रममा बोल्दै परियोजना संयोजक इन्जिनियर गणेश दाहालले परियोजनाले गरेका कामहरुबारे प्रस्तुति दिएका थिए।
कार्यक्रम अधिकृत युवराज बास्तोलाले व्यवसाय कसरी प्रविधिसँग जोडेर अगाडि बढाउन सकिन्छ भनेर जानकारी दिएका थिए।
यसैगरी, विज्ञ सेवक बजगाईंले वेब पोर्टलको आवश्यकता र महत्ववारे जानकारीमूलक धारणा व्यक्त गरेका थिए।

एनवाईइएफका अध्यक्ष सुमन भट्टराई, पूर्वअध्यक्ष तथा बारी कफीका सञ्चालक युनेश राज श्रेष्ठ, विन मोरङ च्याप्टरकी प्रथम उपाध्यक्ष डिना प्रधान लगायतले आफ्नो मन्तव्य राखेका थिए।
संस्थापक अध्यक्ष श्रेष्ठले एएमइएस देशको आर्थिक मेरुदण्ड भएकोले साना तथा मझौला व्यवसायीलाई तीनै तहको सरकारले प्रोत्साहन गर्नु पर्नेमा जोड दिए।
अंकिता गिरी ले सञ्चालन गरेको कार्यक्रम ‘स्टेप अप प्रोजेक्ट’ को आयोजना एवं साना तथा मझौला व्यवसायी महासंघको समन्वयमा भएको थियो।
