११ वर्षका दुई बालिका बलात्कृत
इलाम। बालिकालाई बलात्कार गरेको आरोपमा इलामका बेग्लाबेग्लै स्थानका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाम नगरपालिका–४ बरबोटे र चुलाचुलीबाट उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार बरबोटेका २२ वर्षीय दिपेश नेपाली र चुलाचुली गाउँपालिका–६ तोरीबारीका ५१ वर्षीय यमबहादुर बिश्वकर्मा पक्राउ परेका हुन्।
बरबोटेका नेपालीले स्थानीय ११ वर्षीया बालिकालाई प्रलोभनमा पारी फकाएर साथै धम्क्याएर पटकपटक बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
पीडितका संरक्षकले जानकारी दिएपछि खटिएको जिल्ला प्रहरी र बिब्ल्याँटेको अस्थायी पोष्टका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। गाउँमै लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपालीलाई जिल्ला अदालत इलाममा उपस्थित गराएर ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरीका प्रवक्ता इन्स्पेक्टर सञ्जीव बोगटीले सरल पत्रिकालाई जानकारी दिए।
पीडित दुबैको स्वास्थ्य जाँच गरिएको उल्लेख गर्दै बोगटीले अन्य आवश्यक प्रमाण जुटाएर थप अनुसन्धान भइरहेको बताए।
यसैगरी, चुलाचुलीका विश्वकर्माले किराना पसलमा सामान किन्न गएकी ११ वर्षीया बालिका बेला एक्लै भएको मौका पारी धम्क्याएर बलात्कार गरेको पाइएको प्रहरीले जनाएको छ।
उनलाई पेल्टिमारीस्थित प्रहरी चौकीको टोलीले गाउँमै लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। विश्वकर्मालाई पनि जिल्ला अदालतमा उपस्थित गराएर ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
