निःसन्तान दम्पतीले अब कोशी अस्पतालबाट सेवा पाउने
कोशी अस्पताल, विराटनगर
विराटनगर। बाँझोपन भएका दम्पती (निःसन्तान) ले अब विराटनगरको कोशी अस्पतालबाट सेवा पाउने भएका छन्। यसका लागि ‘निःसन्तान क्लिनिक’ सुरु गरिएको छ।
संघीय सरकारका स्वास्थ्य र जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त क्लिनिकको सोमबार उद्घाटन गरेका छन्। मन्त्री पौडेलले कोशी अस्पतालमा निःसन्तान क्लिनिक स्थापना हुनु ठूलो उपलब्धि भएको बताए। सातैवटा प्रदेशमा यस्ता क्लिनिक र सेवा विस्तार गर्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए।
कोशी अस्पतालकी गाइनोकोलोजी विभाग प्रमुख डा. अन्जु देवका अनुसार निःसन्तान दम्पतीलाई सहयोग र सेवा दिने उद्देश्यले क्लिनिक सुरु गरिएको हो। कुनै कारणले बच्चा हुन नसकेका विवाहित जोडीहरु उक्त क्लिनिकबाट लाभान्वित हुने उनको भनाइ छ।
क्लिनिक स्थापना भएपछि अब बाँझोपन भएका दम्पतीले सन्तान जन्माउनका लागि अपनाउनुपर्ने विभिन्न विधि र उपायहरुबारे सेवा पाउने अस्पतालले जनाएको छ।
क्लिनिकमा विभिन्न खाले परीक्षण गरी बच्चा नहुनुको कारण पत्ता लगाइन्छ। गम्भीर समस्या देखिएको अवस्थामा उपचार गरेर बच्चा हुने अवस्थाका लागि चिकित्सकीय प्रयास गरिने जनाइएको छ।
सामान्यतया औषधि प्रयोग गरेर समस्या समाधान हुने भए त्यसै गरिने छ। अरु खालका समस्या भए त्यसैअनुसारको उपचार र सल्लाह दिइन्छ। यसैगरी, कृत्रिम विधिबाट पनि बच्चा हुने अवस्थाका लागि उक्त क्लिनिकले सेवा दिने डा. देवको भनाइ छ।

अवस्थाअनुसार सम्बन्धित दम्पतीमध्ये श्रीमान्को वा दाताको शुक्रकिट (स्पर्म) केही प्रक्रियामार्फत् तिनलाई सक्रिय बनाएर महिलाको पाठेघरभित्र राख्ने काम पनि गरिने जनाइएको छ।
क्लिनिकका लागि सरकारले उपकरण उपलब्ध गराएको अस्पतालले जनाएको छ। स्थानीय जनशक्तिलाई तालिम पनि सरकारले नै उपलब्ध गराएको छ। करिब १० दिनको तालिमपछि सेवा नियमित सञ्चालनमा आउने अस्पतालले जनाएको छ।
अहिले पनि दैनिक ७ जनासम्म सेवाग्राही आएर सल्लाह लिने गरेका छन्। बाँझोपन भएका दम्पतीलाई प्रारम्भिक रुपमा चिकित्सकहरुले सल्लाह र सुझाव दिने गरेका छन्। पछिल्लो समय बाँझोपनको समस्या बढिरहेको पाइएको छ।
१९४७ मा स्थापना भएको कोशी अस्पतालले दैनिक सयौं बिरामीलाई सेवा दिंदै आएको छ। विभिन्न विभागहरुमार्फत् सेवा दिंदै आएकामा पछिल्लो पटक निःसन्तान क्लिनिक र ‘थालसेमिया वार्ड’ पनि स्थापना गरिएको हो।
निःसन्तान हुनुपर्दा अनेक किसिमका समस्या आइपर्ने गरेको पाइन्छ। महिला पुनःस्थापना केन्द्र (ओरेक) ले केही समयअघि सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा निःसन्तानहरूले हिंसा, मानसिक तनाव, भेदभाव सहनुका साथै सम्पत्तिबाट समेत वञ्चित हुनुपरेको औंल्याइएको छ।
अध्ययनका क्रममा सहभागी गराइएकामध्ये सबैजसो दम्पतीले वृद्धावस्थाको सहारा, पुस्ताको निरन्तरता र सम्पत्ति संरक्षणका लागि सन्तानको आवश्यकता औंल्याएका थिए। हिन्दू परम्परामा मृत्युपछिको काजक्रियाका लागि सन्तान चाहिने मान्यताका कारण पनि निःसन्तान दम्पती तनावमा पर्छन्।
‘इन्फर्टिलिटी, चाइल्डलेसनेस एन्ड हेल्थकेयर सिकिङ इन रिसोर्सेज–पोर सेटिङ इन नेपाल’ नामको उक्त प्रतिवेदन विभिन्न जिल्लामा स्थलगत अध्ययनपछि तयार पारिएको थियो।

अमेरिकास्थित ‘द मायो क्लिनिक’ का अनुसार, बाँझोपनका समस्यामध्ये २० प्रतिशत जति पुरुषका कारणले हुने पाइएको छ। जस्तो– पुरुषमा शुक्राणु कम हुँदा, गुणस्तरीय नहुँदा वा शुक्राणु–नलीमा खराबी आउँदा गर्भ बस्दैन।
त्यस्तै, ४० देखि ५० प्रतिशत समस्या महिलासँग सम्बद्ध छन्। जस्तै– धेरै अन्डा बन्ने वा अन्डा नै नबन्ने, नली बन्द हुने, बच्चा नबस्ने, बसे पनि बारम्बार खेर जाने। ३० देखि ४० प्रतिशत समस्यामा भने महिला–पुरुष दुवैको कमजोरी पाइएको छ।
पछिल्लो समय ढिलो विवाह गर्ने प्रचलनले प्रजनन क्षमतामा कमी आउन थालेको विज्ञ चिकित्सकहरुले बताएका छन्। उनीहरुका अनुसार बच्चा जन्माउने उपयुक्त उमेर २० देखि २९ वर्ष भएकाले यो अवधि नाघेका महिलामा बाँझोपनको जोखिम धेरै रहन्छ। प्रजनन स्वास्थ्यमा गडबडी ल्याउने अर्को कारण अव्यवस्थित खानपिन तथा जीवनशैलीलाई पनि मानिन्छ।
प्रसूति तथा स्त्रीरोग र निःसन्तान विशेषज्ञ डा. दीपमाला कार्कीका अनुसार बाँझोपन महिलामा मात्रै हुने समस्या हो भन्ने धारणा विद्यमान छ। यसकै कारण महिलाहरू घरेलु हिंसाको शिकार बन्न पुग्ने गरेको उनको भनाइ छ।
डा. कार्कीका अनुसार बाँझोपनको समस्या महिला र पुरुष दुवैमा बराबर मात्रामा हुन्छ। बाँझोपनको समस्या र यसबाट मुक्त हुन श्रीमान तथा श्रीमती दुवै जनाको भूमिका उत्तिकै रहन्छ।
उनका अनुसार विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भनिन्छ।
लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ। बाँकी १५ प्रतिशतलाई बाँझोपनमा राख्न सकिने डा. कार्की बताउँछिन्।
–प्रशिक्षार्थी पत्रकार रबिना सुवेदी र रानिका चौधरीको रिपोर्ट
