किच्चकबधमा भेटिएको ‘दरबारको जग’ २२ सय वर्ष पुरानो पुष्टि

झापा। महाभारतकालीन विराट राजाका सालो ‘किच्चक’ को दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित किच्चकबधस्थलमा पुरातत्व विभागको टोलीले आठौं चरणको उत्खनन गरेको छ।

त्यस क्रममा पुरातात्विक महत्वको ‘दरबारको जग’ भेटिएको विभागले जनाएको छ। पुरातत्वविद् उद्धव आचार्यको नेतृत्वमा पुरातत्व विभागबाट आएको चार सदस्यीय टोलीले फागुन २५ गतेदेखि किच्चकबध स्थलमा उत्खनन तथा संरक्षणको कार्य निरन्तर गरिरहेको छ।

विभागका अधिकृत नवराज अधिकारीले किच्चकबध स्थलमा २०५८ देखि विभागले आचार्यको नेतृत्वमा उत्खनन गरिरहेको बताए। उनका अनुसार यसपटक जारी उत्खननका क्रममा तीन मिटरभन्दा गहिरो जग र केही प्राचीन सामग्रीहरू भेटिएका हुन्। भेटिएको जगको इँटाहरू विगतमा फेला परेका इँटासँग मिल्दोजुल्दो छ ।

‘यसपटक हामीले केही नयाँ ठाउँमा उत्खनन गरेका थियौँ’, पुरातत्वविद् आचार्यले भने, ‘विगतमा उत्खनन हुँदा फेला परेका प्राचीन संरचनाहरूको संरक्षणमा बढी ध्यान दिएका छौँ।’ उनका अनुसार विगतमा भएको उत्खननबाट २२०० वर्ष पुरानो दरबारको सुरक्षा पोस्ट, पर्खाल र कम्पाउन्ड सहितको भौतिक संरचना भेटिएको थियो। त्यसबेला मानिसले प्रयोग गर्ने भाला, बाण र माटाका भाडावर्तनसमेत फेला परेपछि त्यसलाई पुरातत्व विभागले संरक्षण गर्दै आएको छ।

दश बिघा क्षेत्रमा फैलिएको किच्चकबध स्थलमा पछिल्लो समय मानव निर्मित मन्दिर, पोखरी र अन्य भौतिक संरचना बनाइएका कारण प्राचीन महत्वका संरचना तथा वस्तुहरु नष्ट हुने जोखिम छ। विभागले नयाँ संरचनाहरू जथाभावी रूपमा नबनाउन आग्रह गर्दै आएको छ। विगतमा खनजोत गरेर खेतीपातीसमेत गरिएका कारण कतिपय भूसतहका पुरातात्विक महत्वका वस्तुहरू नष्ट भएको विभागको आशङ्का छ।

गएको वर्ष विभागले एउटा मन्दिर हटाउन लगाएको थियो। सोही मन्दिरमुनि यसपटक उत्खनन गर्दा प्राचीन दरबारको जग भेटिएको छ। यसपटक अझै केही दिन उत्खनन र संरक्षणको कार्य जारी रहने विभागका अधिकृत अधिकारीले जानकारी दिए।

पुरातत्वविद् आचार्यले किच्चकबध स्थलमा फेला परेका प्राचीन वस्तुहरूको बेलायतमा नमुना लगेर कार्बन परीक्षण गर्दा २२ सय वर्ष पुरानो पुष्टि भएको बताए। प्राचीन स्मारकका बारेमा आठौँ चरणसम्मको उत्खननबाट कुनै लिखित सामग्री भने फेला नपरेको उनले जानकारी दिए।

‘यहाँ हामीले भेटाएका सामानहरू २२ सय वर्ष पुरानो बास्तुकला, सभ्यता र संरचनाको प्रमाण भएको पुष्टि भइसक्यो’, उनले भने, ‘सानो कम्पाउन्डसहित सुरक्षा पोस्ट र हात्ती घोडालाई लगाइदिने सामान पनि भेटिएका छन्। यी कुराले यो स्थान प्राचीन धरोहर हो भन्ने प्रमाणित हुन्छ।’

किंवदन्तीअनुसार महाभारतकालीन राजा विराटको ‘किच्चक’ नामका सालो थिए। जहाँ उनको दरबार थियो। पाँच पाण्डव गुप्तबास बसेका बेला द्रौपदीमाथि कुदृष्टि राखेका कारण भीमसेनले विराटनगरदेखि लखेटेर किच्चकलाई यही दरबारमा ल्याएर बध गरेका थिए। त्यहीकारण यस स्थानलाई किच्चकबध स्थल भनिन थालेको हो।

सरकारले किच्चकबध स्थलको पौराणिक तथा पुरातात्विक महत्व धेरै भए पनि उत्खनन तथा संरक्षणका लागि पर्याप्त लगानी गर्न सकेको छैन। थोरै बजेट भएका कारण उत्खनन र संरक्षणको कार्य हरेक वर्ष अधुरो हुने गरेको छ।

सरकारले उत्खननका लागि यसपटक १० लाख बजेट छुट्याएको विभागका अधिकृत अधिकारीले बताए। ‘बजेट धेरै हुने हो भने एकै वर्षमा धेरै काम हुन्थ्यो’ उनले भने, ‘तैपनि सीमित स्रोतसाधन हुँदाहुँदै दैनिक १३ जनासम्म कामदार लगाएर यसपाली संरक्षणको काम गरिरहेका छौँ।’

किच्चकबधस्थल मानिसको प्राचीन सभ्यता र संस्कृति चिनाउने एउटा ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसार हुनसके ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको स्थानीय किच्चकबध संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले बताए।

विराट राजाको दरवारसम्बन्धी जनविश्वास अनुसार महाभारत कालमा त्यस क्षेत्रमा पाण्डवहरू गुप्तवासका लागि आएका थिए। प्रचलित किंवदन्तीअनुसार विराट राजाको दरवार रहेको क्षेत्रमा पाण्डवहरूका गतिविधि चियो गर्न दुर्याेधनले भेदियारी (गुप्तचर) पठाएका थिए। त्यही आधारमा उक्त स्थानको नाम भेडियारी भएको हो भन्ने जनवश्विास छ। उक्त स्थान हाल विराटनगर महानगरपालिका–१८ हो।

भेडियारीमा २०२७ सालमा नेपाल पुरातत्व विभागले उत्खनन गर्दा ४० वटा पञ्चमार्क नामक चाँदीका मुद्रा भेटिएको तथ्य सार्वजनिक भएको थियो। विराटराजको दरबार क्षेत्रको मन्दिरको उत्खनन् गरिएको भग्नावशेष क्षेत्र आसपासमा आधा दर्जनभन्दा बढी पोखरीहरू पनि छन्, जसलाई स्थानीयले विभिन्न प्रयोजनका लागि बनाइएको बताउँदै आएका छन्।

त्यहाँका पोखरीहरूलाई धरवा, किच्चकबध, भंसिया, थरथोवा, गुहिया, दिघरी र बहरवा पोखरी नाम दिइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *