इक्वालिटी कप क्रिकेटमा मोरङ र सप्तरी विजयी

विराटनगर। नेपाल क्रिकेट फाउण्डेशनले आयोजना गरेको ‘इक्वालिटी कप क्रिकेट २०२५’ प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा सप्तरी र मोरङ विजयी बनेका छन्।

विराटनगर–६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट ग्राउन्डमा भएको पहिलो खेलमा सप्तरीले इलामलाई ८ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो।

इलामकी प्रियंका राईले सर्वाधिक ४१ रन बनाइन्। सप्तरीकी सुस्मिता यादवले सर्वाधिक २ विकेट लिइन्। १ सय १८ रनको लक्ष्य पछ्याएको सप्तरीले १४ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो।

सप्तरीको जितमा प्लेयर अफ द म्याच साक्षी यादवले अविजित ६० रन बनाउँदा बन्दना रजकले पनि अविजित १३ रनको योगदान दिइन्। इलामकी मुना राई र टिकामाया तामाङले १–१ विकेट लिए।

दोस्रो खेलमा मोरङले सिराहालाई ७ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको सिराहाले निर्धारित २० ओभरको खेलमा १२ दशमलव २ बलमा सबै विकेट गुमाउँदा ६० रनमा सीमित भयो। सिराहाका कुनै पनि ब्याटरले दोहोरा अंकलाई छुन सकेनन्। मोरङकी प्लेयर अफ म्याच कृतिषा धामीले सर्वाधिक ५ विकेट लिइन्। उनले ४ ओभरमा १६ रन दिएकी थिइन्।

६१ रनको झिनो लक्ष्य पछ्याएको मोरङले ९ दशमलव १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पार गरेको थियो। मोरङको जितमा सानु राजवंशीले अविजित २८ रन बनाउँदा टिका साहले १५ रन बनाइन्।

प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिराहा र सप्तरीका महिला टिमहरू सहभागी रहेको खेल संयोजक मन्दिप साहले जानकारी दिए। खेल लिगको आधारमा खेलाइने प्रतियोगिता बिहीबारसम्म चल्नेछ। लिगमा टप गर्ने दुई टिमबीच फाइनल खेलाइने आयोजकले जनाएको छ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथआउट बाउण्ड्रिजले सहयोग गरेका छन्। क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटी कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *