इस्लाम धर्मावलम्बी आज ईद पर्व मनाउँदै, देशभर बिदा
काठमाडौ। इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात् ईद पर्व मनाउँदै छन्।
हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ।
ईद अल–फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मानिन्छ, जुन रमजान महिनाको समाप्तिको संकेतस्वरूप मनाइन्छ। रमजानको अवधिमा धर्मनिष्ठ मुस्लिमहरूले प्रत्येक दिन बिहानको झिसमिसेदेखि सूर्यास्तसम्म रोजा (उपवास) राख्ने गर्छन्।
यो महिना ईबादत, दान–पुण्य र सदाचारका लागि विशेष मानिन्छ। यस अवधिमा रोजा खोलेर परिवार र मित्रसँग रमाइलो गर्ने परम्परा पनि छ भने आफ्नो गक्षअनुसार दान दक्षिणा गरेर पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ।
सामान्यतया ‘ईद’ को अर्थ खुसी हो। एक महिना रमजानको व्रत बसेको र यस महिनामा आफूलाई इस्लाम धर्मले बर्जित गरेको कामबाट अलग राख्न सकेको तथा धेरैभन्दा धेरै पुण्यको काम गरेको खुसीमा ईद मनाउने गरिन्छ।
विशेषगरि बिहान ईदको नियतले नुहाएर सफा र पवित्र भएर मानिसहरु नजिकैको खुला मैदान वा तोकिएको खुला स्थानमा पुगेर ईदको नमाज पढ्ने गर्दछन्।
ईदको नमाज पढ्नुअघि गच्छेअनुसार निश्चित रकम (जकात फित्रा) दानको रुपमा छुट्याउने गर्दछन् र यस्तो रकम आफू निकटको सबैभन्दा बढी गरिबमाझ वितरण हुने गर्दछ।
त्यस्तै, ईदको नमाज पढेपछि अंकमाल गरी एक अर्कालाई ईदको शुभकामना दिने गरिन्छ भने एक अर्कासँग माफी लिने दिने चलन छ। ईदको शुभकामना दिन आउनेलाई प्रत्येक घरले मीठो मसिनो जे उपलब्ध छ त्यो खुवाएर सत्कार गर्ने गर्दछन्।
नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सार्वजनिक बिदा दिइएको हो।
