सहिद भीमनारायण गोल्डकपः उद्घाटन खेलमा सप्तरी विजयी
धनकुटा। सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करणको आइतबार पहिलो दिनको खेलमा सप्तरीको नमोबुद्ध युथ क्लबले जितेको छ। नमोबुद्धले आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटालाई ३–१ गोलअन्तरमा पराजित गर्दै जित हात पारेको हो।
नमोबुद्धका लागि खेलको १७ औं मिनेटमा कर्नर पासलाई सदुपयोग गर्दै निर्मल घिसिङले गोलको खाता खोले। यसैगरी, मिस्कन दासले ३२ औं मिनेटमा नमोबुद्धका लागि दोस्रो गोल गर्दै जितका लागि फराकिलो नतिजा दिलाए। ३९ औं मिनेटमा भने मोहित गुरुङले टिमका लागि तेस्रो गोल गर्न सफल भए।
धनकुटाका लागि एक मात्र सान्त्वना गोल दोस्रो हाफको १४ औं मिनेटमा टिम क्याप्टेन दिपेन शाक्यले दिलाए। आयोजकले गोल गर्ने केही सुन्दर मौका चुकाउन पुग्यो। धनकुटा-५ स्थित तल्लो टुँडिखेलमा अपराह्न ४ बजेदेखि सुरु भएको खेलमा घरेलु दर्शकको उल्लेख्य उपस्थिति थियो ।
प्रतियोगिताको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुव रायाले गरेका थिए। सोमबार ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच अपराह्न साढे ३ बजे खेल सुरु हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता छ। जसमा आयोजक तथा नमो बुद्ध युथ फुटबल क्लबसहित चित्लाङ फुटबल क्लब काठमाडौं, विर्तामोड युनाइटेड झापा, ब्वाइज फुटबल क्लब इटहरी, गाईघाट फुटबल क्लब उदयपुर, बेलबारी फुटबल क्लब मोरङ तथा विभागीय टिम एपीएफ क्लब काठमाडौं छन्।
विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन्।
विभिन्न दस वटा उपसमितिसमेत गठन गरिएको प्रतियोगिताका संयोजक शम्भु प्रधानले जानकारी दिए। जसमा आर्थिक, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन, मञ्च, सुरक्षा, स्वयंसेवक तथा प्राथमिक उपचार व्यवस्थापन उपसमिति गठन गरिएको संयोजक प्रधानले बताए।
गत वर्ष १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड झापा फुटबल क्लबले हात पारेको थियो। २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि ०६३ देखि नियमित सञ्चालन हुँदै आएको सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले बताए।
