आफैंले हत्या गरेर गाडेपछि गर्भवती श्रीमती हराएको भन्दै प्रहरीमा उजुरी
इलाम। फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान् २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको गर्भवती थिइन्। घुम्न लैजाने भन्दै उमेशले गत फागुन २९ गते बेलुका घरबाट करिब २ घण्टाको दूरीमा लगेर श्रीमतीको हत्या गरी बाटोमै शव गाडेको प्रहरीले जनाएको छ।
विमला चैत १ गतेदेखि हराइरहेकी थिइन्। दुई सातापछि चैत १५ गते बिहानको राति १ बजे घरभन्दा करिब दुई घण्टा पर फाकफोकथुम गाउँपालिका–२ को धार्नेखोपस्थित दाहाल गोलाईमा कच्ची बाटोको बीचमा विमलाको शव गाडिएको अवस्थामा फेला परेको थियो।
विमलालाई हत्या गरेर शव बीच सडकमा गाडिदिएको भन्दै एक्साभेटर चालक उमेशले नै ठाउँ देखाएपछि प्रहरीले शव फेला पारेको थियो। विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक तथा प्रवक्ता सञ्जीव बोगटीले जानकारी दिए।
शव भेटिएपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी निरीक्षक रमेश राईको नेतृत्वमा विशेष समूह गठन गरी घटना अनुसन्धान गरिरहेको थियो। अनुसन्धानका क्रममा प्रहरीले उमेशको विवाहेत्तर सम्बन्धका कारण बिमलाको हत्या गरेको देखिएको बताएको छ।
‘उमेशले फागुन २९ गते साँझ विमलालाई घुम्न जाऔं भनी घरबाट लगेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले भने, ‘उमेशको बयान अनुसार जहाँ उनलाई खाडल खनेर पुरिएको छ, त्यहाँ पुगेपछि उमेशले विमलालाई एक मुक्का हान्छन्, श्रीमती सडकमै ढलेपछि घाँटी थिचेर हत्या गरी गाडेको देखिन्छ।’
गिरीले चैत १ गते नै श्रीमती बेपत्ता भएको भन्दै खोजी गरिदिन भन्दै प्रहरीमा जाहेरी दिएका थिए।
