राजाको शासन कस्तो हुन्छ, राजावादीले तीनकुनेमा देखाएः गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको विकल्प निरंकुशतन्त्र हुन नसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।।

गृहमन्त्री लेखकले वर्तमान व्यवस्थालाई नै सुधार गरेर जानुपर्नेमा जोड दिए। ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो। गल्ती र कमजमोरी भएको छ भने सुधारेर जाने हो। नागरिकले प्रश्न गर्ने हो। सुधार गर्ने हो। कुनै लोकतन्त्रको विरुद्ध निरंकुशता हुन सक्दैन’ उनले भने।

राष्ट्र र नागरिकप्रति आफूहरुलाई जिम्मेवारीबोध भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले भने, ‘सुधारेर जानेमा प्रतिबद्ध छौं। हुकुम नै कानून हुने राजतन्त्रको पद्दति उचित होला भनेर कर्णधार युवा पुस्ताले भ्रममा पर्नु हुँदैन । यही व्यवस्थालाई सुधारेर जानुपर्छ।’

गृहमन्त्री लेखकले राजाको निरंकुश शासनको बारेमा थाहा नभएकाहरु भ्रममा बस्न नहुने भन्दै राजाहरुलाई प्रश्न गर्न नपाइने इतिहास स्मरण गराए। ‘राजतन्त्रको शासन नदेखेको मान्छे पनि यहाँ हुनुहुन्छ, १८ वर्षअघि राजाको शासन थियो। अहिले युवाहरुलाई राजसंस्थाबारे केही थाहा नहुन सक्छ, राजाको शासनमा आलोचना गर्न पाइन्छ कि पाईँदैन भनेर सोध्नुहोस्। मैले बुझेको राजतन्त्रमा राजालाई प्रश्न गर्न पाईँदैन। प्रश्न गर्ने कोसिस गर्यो भने जेल जानुपर्छ। आज प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मलाई प्रश्न गर्दैछौं।’

राजाले गल्ती गर्दा पनि कानुनी कारबाही नहुने भन्दै लोकतन्त्रमा गल्ती गर्दा सबैमाथि कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ। आलोचनाभन्दा बाहिर र संविधानभन्दा माथि हुकुमै कानुन हुने राजतन्त्रको पद्दति उचित हुन्छ भनेर युवाहरु भ्रममा परे देश अध्यारोमा जाने गृहमन्त्री लेखकले बताए।

राजाको शासन कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखिएको उनले उल्लेख गरे। ‘राजाको शासन चरित्र कस्तो हुन्छ भनेर शुक्रबार तीनकुनेमा देखियो। हामी राजाका समर्थक हौं, फेरि यो देशमा राजा ल्याउँछौ भनेर ज्युँदै मान्छेलाई घरमा आगो लगाएर पोल्ने काम भएको छ। यो हो तरिका? राजाको शासन ल्याउँछु भन्नेहरुबाट घरमा आगो लगाएर पत्रकारलाई ज्युँदै पोल्ने काम भएको छ। यसमा म दुःख व्यक्त गर्न चाहन्छु। उद्योगीहरुलाई पसलमा ढुंगा मुढा गरियो। लुटपाट मच्चाउने काम भयो’ गृहमन्त्री लेखकले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *