म्यानमार भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
काठमाडौं। म्यानमारमा गएको भूकम्पमा परी १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको जानकारी दिएका हुन्।
‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौं’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिंदै लेखेका छन्।
गैरआवासीय नेपालीहरूको राहतका लागि संघको तर्फबाट एनसीसी म्यानमार मार्फत १० लाख रुपैयाँ सहयोगको घोषणा पनि उनले गरेका छन्।
‘हामी विश्वभरका सबै एनसीसीहरूलाई विनियोजन गरिएको कोषमा थप्न रकम सङ्कलन कार्यक्रम सुरु गर्न अनुरोध गर्दछौं’, उनले भनेका छन्, ‘हामी साँच्चै विश्वभरका नेपालीद्वारा नेपालीका लागि योगदान गर्न चाहन्छौँ।’
म्यानमारको सैन्य परिषद्ले शुक्रबारको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार ६४४ पुगेको जनाएको छ। सेनाले भूकम्पबाट घाइते हुनेको संख्या बढेर ३ हजार ४०८ पुगेको र १३९ जना अझै बेपत्ता रहेको जनाइएको छ।
७.७ रेक्टरस्केलको भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको थियो।
