मिल्स एकेडेमीले जित्यो प्रदेशस्तरीय टी-२० क्रिकेटको उपाधि
विराटनगर। आयोजक मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइलनमा घरेलु टिम मोरङ जिल्लालाई २ विकेटले पराजित गर्दै आयोजकले उपाधि जितेको हो।
जितसँगै आयोजकले नगद १ लाख १ हजार रुपैया हात प्राप्त गर्यो। उपविजेता मोरङले नगद ५१ हजार रुपैयाँमा चित्त बुझायो।
मोरङले दिएको १२० रनको लक्ष्य आयोजकले १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। आयोजकको जितमा कृष शर्माले २४ रन बनाए। उनले १९ बलमा दुई चौका प्रहार गरे।
सौगात भट्टराईले अविजित १८ बलमा १९ रनको योगदान दिए। उनले १ चौका प्रहार गरे। उनी खेलको प्लयेर अफ द म्याच घोषित भए। प्रशान साहले अविजित १२ बलमा १३ रन पारी खेल्दा सागर मोचेले १८ बलमा १६ रनको योगदान दिए। निरज मुखियाले ६ बलमा १४ रन र मुकुन्द यादवले १३ बलमा १० रन बनाए।
मोरङका बलर मेहबुब इराकी २ ओभरमा २१ रन खर्चेर २ विकेट लिए। एरन अलीले ३.५ ओभरमा २२ रन खर्चेर २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ थालेको मोरङले २० ओभरमा ७ विकेटको क्षतिमा ११९ रनको मध्यम योगफल बनाएको थियो। कमलदेव चौधरीले अविजित ४२ बलमा ४३ रन बनाए।
उनले ४ चौका र १ छक्का प्रहार गरे। कृतिक कामतले ४३ बलमा ३४ रन बनाए। उनले २ चौका हिर्काए। कपिल मण्डलले अविजित १० बलमा २५ रनको योगदान दिए। मोरङका अरु ब्याटरले दोहोरो अंक ल्याउन सकेनन्।
आयोजकका जोशक खड्काले ४ ओभरमा १६ रन खर्चेर दुई विकेट लिए भने प्रशान्त साह र सौगात भट्टराईले समान १–१ विकेट लिए।
खेलको प्यलेर अफ द सिरिज मोरङका मिनस थापा घोषित भए। उनले नगद १५ हजार पुरस्कार पाए। बेस्ट ब्याटरमा आयोजकका मुकुन यादव, र बेस्ट बलरमा उदयपुरका तेज आचार्य घोषित भए। उनीहरुले जनही ११ हजार रुपैयाँ पाए।
मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीको आयोजना र प्रदेश खेलकुद विकास बोर्डको संयोजनामा चैत १२ गतेदेखि भएको प्रतियोगितामा क्यानमा आवद्ध ६ वटा जिल्लाको सहभागिता थियो। प्रतियोगिताको बिजेता हुने टिमलाई प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष बिन्ध्या कार्की, जिल्ला खेलकुद विकास समिति मोरङकी सदस्य शान्ता जोशी, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरारी चौधरीलगायतले पुरस्कार वितरण गरेका थिए।
