काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

काठमाडौं। राजावादीहरुको प्रदर्शन, प्रहरीसँग झडप, घर तोडफोड जस्ता कारण तनावग्रस्त बनेको काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाइएको छ।

व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले क्षेत्रमा कर्फ्यु लगाएको हो। तीनकुने क्षेत्रमा अराजकता बढ्दै गएको, सुरक्षाकर्मी र दमकलमाथि आक्रमण गर्ने क्रम बढेपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाउने निर्णय गरिएको जनाइएको छ।

गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक, प्रहरी महानिरीक्षक दीपक थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीसहितको छलफलपछि कर्फ्यु लगाउने निर्णय भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले यसबारे केही बेरमा सूचना सार्वजनिक हुने बताए।

राजावादी समूहले काठमाडौंको आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड गरेको छ। प्रदर्शनकारीहरुले पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालयमा समेत आक्रमण प्रयास गरेका थिए।

उनीहरूले तीनकुनेका विभिन्न घर तथा भवनमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन्। प्रहरी हस्तक्षेपका कारण तीनकुनेमा राखेको सभा बिथोलिएपछि राजावादीहरू प्रहरी घेरा तोड्दै अघि बढेका थिए। त्यसपछि प्रहरीसँग झडप भएको थियो। झडपका कारण उक्त क्षेत्र पछि अवस्था तनावग्रस्त बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *