बेपत्ता महिला गाडिएको अवस्थामा मृत फेला, श्रीमान् पक्राउ
इलाम। फाकफोकथुमकी एक महिलाको शव गाडिएको अवस्थामा फेला परेको छ। सम्पर्कविहीन भएको १५ दिनपछि फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव गाडिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईका अनुसार फाकफोकथुम गाउँपालिका दुई धार्ने खोप भन्ने स्थानमा शव गाडिएको अवस्थामा फेला परेको हो।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोली पुगेर शव उत्खनन् गरी पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उनले जानकारी दिए।
इलामकै देउमाई नगरपालिका, जितपुर माइत भएकी कट्टेल फागुन २९ गतेदेखि सम्पर्कविहीन बनेकी थिइन्। उनी सम्पर्कविहीन भएपछि खोजी गर्दा पनि नभेटेकाले ससुरा कृष्णलाल गिरीले प्रहरीमा जानकारी दिएका थिए। बुहारी हराएकाले खोजी गरिपाउँ भनी निवेदन आएपछि खोजी गरिएको डीएसपी राईले बताए।
विमलाका श्रीमान् उमेश गिरीको शंकास्पद गतिविधि देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे सुक्ष्म अनुसन्धान सुरु गरिएको डीएसपी राईले सरलपत्रिकालाई जानकारी दिए।
उमेशले फेसबुकमा आफ्नी श्रीमती हराएको जानकारी पोस्ट गरेका थिए। उनले श्रीमती हराएपछि आमचोक प्रहरी चौकीमा जाहेरी दिएको उल्लेख गरेका छन्।
