काठमाडौंमा आज राजावादी र गणतन्त्रवादीको प्रदर्शन
फाइल तस्बिर
काठमाडौं। गणतन्त्र पक्षधर र राजवादीले आज शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन्। राजतन्त्रका पक्षमा र गणतन्त्र रक्षाका लागि भन्दै अलगअलग स्थानमा प्रदर्शन गरिने भएको हो।
गणतन्त्रवादीका तर्फबाट समाजवादी मोर्चाले प्रदर्शनको अगुवाई गर्ने भएको छ। राजवादीका तर्फबाट पूर्वराजाका समर्थकले प्रदर्शन गर्दै छन्।
प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको हो। काठमाडौंका विभिन्न क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रदर्शनका क्रममा राजावादीलाई चक्रपथ (रिङरोड) प्रवेश गर्न नदिने रणनीति प्रशासनको छ। यस्तै, गणतन्त्र पक्षधरलाई चक्रपथभित्र सीमित गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको नेतृत्वमा प्रहरी खटाउने भएको छ। प्रदर्शनस्थलमा भने एसपी अपिलराज बोहराको नेतृत्वमा प्रहरी रहने छ । आवश्यकता अनुसार ‘कमान्ड सेन्टर’ र ‘फिल्ड’ को सुरक्षा व्यवस्था मिलाइने छ।
गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादीलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ। समाजवादी मोर्चाको भक्तपुरतिरबाट आउने समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारीतर्फ पठाउने भएको छ।
राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्काे, कोटेश्वर हुँदै तीनकुने पुग्ने जनाइएको छ । भक्तपुरतर्फबाट सुरु हुने जुलुस कोटेश्वर हुँदै तीनकुने र अर्काे जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुग्ने छ।
दुवै पक्षको जम्काभेट र मुठभेडको स्थितिलाई रोक्न प्रशासनले विशेष रणनीति अपनाइएको जनाएको छ । समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आबद्ध छन्।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा तीनकुनेमा गर्न लागिएको प्रदर्शनमा अन्य राजावादी दल पनि जोडिने भएका छन्।
नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने भएको छ। सुवेदी नेतृत्वको समितिले शुक्रबारको प्रदर्शनको कमान्डरको जिम्मेवारी प्रसाईंलाई दिएको छ।
संयुक्त जनआन्दोलन समितिले एक साताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे आन्दोलनलाई चैत २१ गतेदेखि सशक्त बनाउँदै लैजाने घोषणा गरेका छन्।
उक्त समितिले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरेको छ। २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानलाई समेट्दै २०४७ सालको संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबीच सहमति बन्नुपर्ने चाहना राजावादीको छ।
राप्रपाले पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरिसकेको छ। चैत १२ गते आन्दोलन परिचालन मूल समिति बैठक गरेर राप्रपाले चैत २६ गते काठमाडौंमा प्रदर्शन गर्ने जनाएको थियो।
यस्तै, वैशाख ७ देखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ। राप्रपाले राजसंस्था पुनःस्थापनाका लागि हुने सबै खालका आन्दोलनलाई समर्थन गर्ने निर्णयसमेत गरिसकेको छ।
