प्रदेशस्तरीय टी-२० क्रिकेटमा इलामको रोमाञ्चक जित

विराटनगर। विराटनगरमा जारी प्रदेशस्तरीय टी-२० क्रिकेट प्रतियोगितामा इलामले रोमाञ्चक जित निकालेको छ। मोरङलाई ६ रनले पराजित गर्दै इलाम विजयी बनेको हो।

विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जितसँगै इलामले २ अंक जोडेको छ। इलाम यसअघि उद्घाटन खेलमा उदयपुरसँग पराजित भएको थियो।

इलामले दिएको ११४ रनको विजय लक्ष्य पछ्याएको मोरङ निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १०७ रनमा सीमित भयो। मोरङका सन्तोष चौधरीले ४० बलमा ३९ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। मिनाष थापाले २२ बलमा ३२ रनको योगदान दिए।

इलामका विशाल आचार्य र प्रज्जवल खत्रीले समान २–२ विकेट लिए। लभ कामतले १ विकेट लिए। ब्याटिङ गरेको इलामले १९.६ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनाएको थियो। जसमा सिवान्स बजगाईंले सर्वाधिक ३० रन बनाए। उनले २७ बलमा ५ चौका प्रहार गरे।

इलामका लभ कामतले ३० बलमा २६ रन पारी खेल्दा सुशान्त सापकोटाले १७ बलमा १६ रनको योगदान दिए। मोरङका बलर अर्मन अली र मिनाष थापाले समान ३–३ विकेट लिए।

खेलको प्लयेर अफ दी म्याच इलामका लभ कामत घोषित भए। उनले २ हजार ५ सय रूपैयाँ पुरस्कार पाए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *