प्रदेशस्तरीय टी-२० क्रिकेटमा उदयपुरको विजयी सुरुवात

विराटनगर। कोशी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगितामा उदयपुरले विजयी सुरुवात गरेको छ। विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालमा मंगलबार भएको उद्घाटन खेलमा उदयपुरले इलामलाई २९ रनले पराजित गरेको छ।

जितसँगै उदयपुरले २ अंक जोड्न सफल भयो। इलामले टस जितेर उदयपुरलाई ब्याटिङको निम्तो दिएको थियो। पहिले ब्याटिङको मौका पाएको उदयपुरले १९ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनको योगफल बनायो।

प्रभात किरण राईले २२ रन, निर्देश बस्नेतले १५ रन र रिजन तिवारीले १० रन बनाए। इलामका लभ कामतले ४ विकेट र प्रज्ज्वल खत्रीले ३ विकेट लिए।

८६ रनको विजय लक्ष्य पछ्याउने क्रममा इलाम १५ ओभर २ बलमा सबै विकेट गुमाउँदै ५६ रनमै समेटियो। श्याम यादवले १४ रन बनाए। उदयपुरका तेज आचार्य र सुशान्त तिम्सिनाले ३–३ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच उदयपुरका तेज आचार्यले २ हजार ५ सय प्राप्त गरे। मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजना र कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा भएको प्रतियोगितामा ६ वटा जिल्लाको सहभागिता छ।

बुधबारको पहिलो खेल मोरङ र उदयपुर तथा दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी र सुनसरीबीच हुने क्लबकी सचिव शान्ता जोशीले जानकारी दिइन्।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशमा क्रिकेट खेलको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *