तरकारीमा विषादी हालेर बारीबाट सिधै बजारमा

काठमाडौं। काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा बिक्रीका लागि राखिएका तरकारीमा अत्यधिक विषादी पाइएको छ। परीक्षणका क्रममा विभिन्न खाले तरकारीमा खान नहुने मात्रामा विषादीको अवशेष भेटिएको हो।

कालीमाटीमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले तरकारीको नमुना परीक्षण गरेको हो। त्यस क्रममा खान नहुने विषादीको मात्रा अधिक देखिएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सोमबार विभिन्न स्थानबाट संकलित १४ प्रकारका तरकारीको नमुना परीक्षण गरिएको थियो।

भक्तपुरबाट आएको ब्रोकाउलीमा ‘अगार्नोफस्फेट’ नामको विषादी ८८ प्रतिशतभन्दा बढी पाइएको थियो। समितिका अनुसार ती ब्रोकाउली प्रहरीको रोहबरमा नष्ट गरिएको थियो।

अघिल्लो सोमबार पनि भक्तपुरबाट आएको ब्रोकाउलीमा खान नहुने मात्रामा विषादी प्रयोग भएको भेटिएको समितिले जनाएको छ। समितिले चैत १ देखि ११ गतेसम्म १३० वटा तरकारीका नमुनाको परीक्षण गरेको थियो।

तीमध्ये सात वटा खान नहुने विषादीको प्रयोग भएको जनाइएको छ। केही दिन पर्खेर मात्रै खान हुने विषादीको मात्रा नौ वटामा देखिएको र धेरैजसो गोलभेँडामा पाइएको हो।

विज्ञहरुका अनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने हुन्छ भने ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ।

विषादी छर्केपछि सम्बन्धित तरकारी खान पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा ल्याइने गरेकाले उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *