‘ह्वाट्सएप’ मा एसईईको प्रश्नोत्तर, २ जना शिक्षक पक्राउ
सुनसरी। माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ‘चिट चोराउन’ मोबाइल फोनमा एप्सको प्रयोग भएको खुलेको छ। ‘ह्वाट्सएप’ प्रयोग गरी प्रश्नको उत्तर पठाउने गरेको पाइएको हो।
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने दुई जना गार्ड पक्राउ परेका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार परीक्षा केन्द्र अनुगमनमा जाँदा परीक्षा गार्डका रुपमा खटिएका शिक्षकले मोबाइल ‘अफ’ गरेका थिए। अस्वाभाविक लागेर जाँच गर्दा उनीहरुको मोबाइलबाट ‘ह्वाट्सएप’ मार्फत् प्रश्नका उत्तर पठाइएको पाइएको थियो।
पक्राउ पर्नेमा शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहता छन्। उनीहरुलाई परीक्षा गार्डबाट निष्कासन गरिएको प्रअिज मिश्रले बताए। उनीहरुले उक्त माध्यम प्रयोग गरी प्रश्नका उत्तर विद्यार्थीलाई पठाउने गरेको पाइएको थियो।
अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। उक्त केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको मिश्रले जानकारी दिए।
