धनकुटाका २३ सहकारी संस्था खारेज गर्ने नगरपालिकाको चेतावनी
धनकुटा। धनकुटा नगरपालिकाले लेखा परीक्षण र साधारणसभाको विवरण नबुझाउने सहकारी संस्थाहरू खारेज गर्ने चेतावनी दिएको छ। २३ वटा संस्थालाई चेतावनी दिइएको हो।
नगरपालिकाले निर्धारित अवधिमा विवरण नबुझाएको भन्दै अन्तिम चेतावनीसहित १५ दिनको म्याद दिएको छ। उक्त अवधिभित्र विवरण नबुझाए संस्था खारेजीको प्रक्रिया अघि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए। यसअघि नगरपालिकाले सहकारी ऐनविपरीत काम गरेको भन्दै १७ वटा सहकारी संस्था खारेजी गरेको थियो।
धनकुटा नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २८ को उपदफा २ मा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्रमा साधारणसभा बोलाउनु पर्ने उल्लेख छ।
ऐनको दफा ५२ को उपदफा १ मा आर्थिक वर्ष सकिएको ३ महिनाभित्र लेखा परीक्षण तथा वार्षिक प्रतिवेदनलगायतका कागजपत्र पेश गर्नुपर्ने उल्लेख छ। तर, निर्धारित अवधिमा २३ वटा सहकारीले नियमअनुसार काम नगरेकोले अन्तिम चेतावनी दिइएको राईले बताए।
विवरण नबुझाउने सहकारी संस्थामा साथी बचत तथा ऋण सहकारी, समृद्धि बचत तथा ऋण, धनकुटा नगरपालिका एभोकाडो कृषक सहकारी, मजदुर बचत तथा ऋण सहकारी, निशान उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था छन्।
यस्तै, महिला सशक्तीकरण बचत तथा ऋण सहकारी, पशुपति महिला बचत तथा ऋण सहकारी, लक्ष्मी बचत तथा ऋण, हिले बचत तथा ऋण, स्वावलम्बन बहुउद्देश्यीय सहकारी, आनिना बहुउद्देश्यीय, दुग्ध उत्पादक सहकारी, पाथीभरा दुग्ध, अरुण उपभोक्ता, खेलकुद सहकारीले पनि विवरण नबुझाएको नगरपालिकाले जनाएको छ।
विवरण नबुझाउनेमा जडिबुटी उत्पादन प्रशोधन तथा पर्यटन कृषि सहकारी, गुठी कृषि सहकारी, मार्गापोखरी कृषि सहकारी, सिंहदेवी कृषि सहकारी, नेब्ला कृषि सहकारी, हाम्रो कृषि सहकारी, पञ्चकन्या कृषि, साततले गुफा कृषि सहकारी पनि छन्।
तोकिएको समयभित्र विवरण नबुझाए सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ बमोजिम संस्था दर्ता खारेजीको प्रक्रिया अघि बढाउने नगरपालिकाले जनाएको छ।
यसअघि तीन वटा सहकारीले झन्डै एक सय बचतकर्ताको साढे ४ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको नगरपालिकामा उजुरी परेको थियो। ती संस्थाले बचतकर्ताको रकम फिर्ता गराउन थालेको दाबी गरेका छन्।
उजुरी परेका सहकारी संस्थामध्ये धनकुटा–६ मा रहेको हाम्रो कृषि सहकारीले सबैभन्दा बढी रकम अपचलन गरेको पाइएको छ। उक्त संस्थाका ६० भन्दा बढी बचतकर्ताको ४ करोड २९ लाख २४ हजार ७ सय १६ रुपैयाँ फिर्ता नगरेको नगरपालिकाले जनाएको छ।
यस्तै, धनकुटा–६ स्थित समृद्धि बचत तथा ऋण सहकारीका अध्यक्ष लोकेन्द्र खड्काको नाममा पनि उजुरी परेको छ। उक्त संस्थाले १८ जना बचतकर्ताको ६ लाख ९६ हजार १ सय २५ रकम फिर्ता नगरेको पाइएको छ।
