मिल्स गोल्डकप उपाधिका लागि उदयपुर र लेटाङ भिड्दै
विराटनगर । पाँचौँ संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पार्न उदयपुरको फ्युजन फुटबल क्लब गाईघाट र मोरङको लेटाङ फुटबल क्लब आज आमनेसामने हुँदै छन्।
विराटनगर जुटमिल खेल मैदानमा हुने फाइनलमा दुवै टिम पहिलो पटक मिल्स गोल्डकपको उपाधि जित्ने लक्ष्यसहित उत्रने छन्। दुवै टिम यो प्रतियोगिताको नयाँ टोली हुन्।
दुवै टिमका प्रशिक्षकले उपाधि जित्नका लागि खेल्ने बताएका छन्। लेटाङले क्वाटरफाइलनमा आयोजक लालीगुराँस स्पोर्टिङ क्बललाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो। यस्तै सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ उपाधि नजिक पुगेको छ।
उदयपुरले क्वाटरफाइनलमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले र सेमिफाइलनमा इटहरी टीएफसी तालतलैयालाई एक गोलको विरुद्ध पाँच गोल गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
गाईघाटका प्रशिक्षक विशाल राईले प्रतियोगितामा सहभागी जनाएको पहिलो पटक मिल्स गोल्डकपको फाइनलमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए। ‘उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य छ,’ प्रशिक्षक राईले भने,’ त्यही अनुसार खेलाडीहरु मैदान प्रवेश गर्नेछन्।’
लेटाङका प्रशिक्षक इन्द्र राईले मिल्स गोल्डकपमा सहभागी जनाएको पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले पनि उपाधि जित्ने विश्वास व्यक्त गरे। ‘फाइनलमा हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एकमात्र लक्ष्य छ,’ उनले भने ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ पाउने छ। विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ।
चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा एक भारतीय टिमसहित कोशी प्रदेशको ८ टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए।
गत वर्ष प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो। फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गरेको थियो।
