मिल्स गोल्डकप : फाइनलमा उदयपुर र लेटाङको भेट पक्का

विराटनगर। मोरङको लेटाङ फुटबल क्लब पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। विराटनगरको जुट मिल खेल मैदानमा शुक्रबार भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै लेटाङ फाइलनमा पुगेको हो।

उपाधिका लागि आइतबार उदयपुरको फ्यूजन फुटबल क्लब गाईघाट र लेटाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

जितको लागि लेटाङका सौगात राईले दुई गोल, विवेक राई, अनुप मगर, सन्दिप मगर र किरण शंकरले समान १–१ गोल गरे। घरेलु टिम पेमाको तर्फबाट निशान्त राई, रोशन राई र प्रनिश न्यौपानेले समान १–१ गोल गरे।

खेल सुरु भएको चौथो मिनेटमा पेमा स्पोर्टिङ क्लबका निशान्त राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। पहिलो गोल गरेको पाँच मिनेट बित्न नपाउँदै पेमाका रोशन राईले ९ औं मिनेटमा गोल गरी अग्रता दोब्बर बनाए।

यो अग्रता पहिलो हाफसम्म मात्रै टिक्यो। खेल सुरु भएको ९ औं मिनेटमा २–० गोलले पछि परेपछि लेटाङले आक्रामक खेल पस्कियो। त्यसपछि लेटाङका खेलाडी विवेक राईले खेलको २३ औ मिनेटमा पुजन चौधरीले निकालेको क्रस पासलाई गोलमा परिणत गरे।

खेलको ३२ औं मिनेटमा अनुप मगरले अर्को गोल गर्दै खेल बराबारीमा ल्याए। पहिलो हाफसम्म २–२ गोलको बराबरी भयो। खेलको ५७ औं मिनेटमा सन्दिप मगरले गोल गर्दै अग्रता तेब्बर बनाए।

किरण शंकरले खेलको ६५ औं मिनेटमा गोल गरेपछि लेटाङले ४–३ गोलले अग्रता बनायो। ७० औं मिनेटमा सौगत राईले डिबक्स भित्रबाट गरेको कडा प्रहारले जाली चुमाए। त्यसलगत्तै पेमाका खेलाडी प्रनिश न्यौपानले गोल गर्दै ३–५ गोलले अग्रता घटाए। खेलको ७८ औं मिनेटमा लेटाङका सौगत राईले गोल गर्दै टिमको जित सुनिश्चत गरे।

खेलको प्लेयर अफ द म्याच लेटाङका किरण शंकर घोषित भए। उनले नगद २ हजार १ सय पाए। मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजना भएको प्रतियोगिताको बिजेताले नगद १ लाख रुपैयाँ र उपबिजेताले नगद ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको फाइनल आइतबार हुने मिल्स गोल्डकप फुटबल टष्ट्रका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए। प्रतियोगिताका भारतको एक टिमसहित कोशी प्रदेशका ८ वटा टिमको सहभागिता थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *