बेवारिसे सडक मानवको सहयोगका लागि भक्तपुरमा महायज्ञ
भक्तपुर। भक्तपुरमा ‘बेवारिसे सडक मानव’ का लागि सहयोग जुटाउने उद्देश्यले महायज्ञ आयोजना गरिने भएको छ। सामाजिक सेवाको पवित्र उद्देश्यलाई आत्मसात गर्दै ‘बेवारिसे सडक मानवका लागि महायज्ञ २०८१’ आयोजना गरिने भएको आयोजकले जनाएका छन्।
महायज्ञमार्फत सडक तथा सार्वजनिक स्थलहरूमा अलपत्र तथा बेवारिसे अवस्थामा रहेका मानवहरूको लागि दीगो रूपमा खाना, नाना र छानाको व्यवस्थापन गर्न तथा प्रभावकारी सेवाका लागि जग्गा तथा भवन व्यवस्थापन गर्ने लक्ष्य राखिएको महायज्ञ संयोजक गोपीकृष्ण न्यौपानेले जानकारी दिए।
मानव कल्याण समाजको आयोजनामा हुने महायज्ञ चैत २१ गतेदेखि २७ गतेसम्म मध्यपुर थिमी–५ स्थित यातायात कार्यालयसँगै रहेको राधेराधेमा हुनेछ। महायज्ञमा समाजका संस्थापक अध्यक्ष देवी सुमी मानवबाट कथा वाचन हुने जनाइएको छ।
यस क्रममा चैत २१ गते बिहान ७ देखि ९ बजेसम्म पूर्वाङ्ग हुनेछ। सोही दिन बिहान ९ बजे महायज्ञस्थलबाट शोभायात्रा गरिने छ। महायज्ञको औपचारिक उद्घाटन चैत २१ गते दिउँसो १२ः३० बजे हुनेछ।
बीचका दिनहरुमा कथा वाचन, भजन कीर्तन हुनेछ। यसैगरी, चैत २६ र २७ गते लक्ष्यवर्तिका प्रज्वलन हुनेछ भने त्यससँगै महायज्ञ समापन गरिने आयोजकले जनाएको छ। यही अवसरमा हरेक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म योगाभ्यास आयोजना हुनेछ।
केही वर्ष अघिसम्म भक्तपुरका सडक तथा अन्य सार्वजनिक स्थलहरूमा बेवारिसे मानिसहरूको संख्या उल्लेख्य थियो। कतिपयको अवस्था अत्यन्त दयनीय पाइएको थियो। अचेल त्यो अवस्थामा निकै सुधार आएको छ।

यस्तो परिवर्तनको मूल कारण सुमी मानव संस्थापक अध्यक्ष रहेको मानव समाज कल्याण संस्थाको सक्रियता र अगुवाई थियो। बेवारिसहरुलई भक्तपुरको झौखेलमा अस्थायी बास व्यवस्था गरी राखिएको छ।
बेवारिसे मानवहरूको उद्धार गर्दै उनीहरूको सरसफाइ, स्वास्थ्य उपचार, पुनर्मिलन, काउन्सिलिङ तथा सुधारका लागि संस्थाले विभिन्न प्रयासहरूलाई एक दशकदेखि निरन्तरता दिदै आएको जनाइएको छ। यी सेवाहरूलाई थप प्रभावकारी बनाउन र दिगो व्यवस्थापनका लागि महायज्ञबाट संकलित सहयोग तिनै असहाय सडक मानवहरूको लागि जग्गा खरिद तथा स्थायी आवास निर्माणमा प्रयोग गरिने संयोजक न्यौपानेले बताए।
यो काममा स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूको संलग्नता एवं सहयोगको अपेक्षा गरिएको आयोजकको भनाइ छ।
