हत्या मुद्दामा दोषी ठहर भएका व्यक्ति २० वर्षपछि पक्राउ
संखुवासभा। एक जना व्यक्तिको हत्या गरेर लामो समयदेखि फरार रहेका अभियुक्तलाई प्रहरीले संखुवासभाको चैनपुरबाट पक्राउ गरेको छ।
चैनपुर नगरपालिका–९ (पहिले बानेश्वर गाविस–६ खाम्लिङ) का ५१ वर्षीय चतुरमान तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि २० वर्षदेखि फरार रहेका तामाङलाई गाउँघरमै लुकिछिपी बसिरहेको अवस्थामा गत मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको इन्स्पेक्टर देउप्रसाद लिम्बू नेतृत्वको टोलीले पक्राउ गरेर अदालतमा बुझाएको हो। प्रहरीले बुझाएपछि अदालतले तामाङलाई सजाय भुक्तानका लागि जिल्ला कारागार खाँदबारी चलान गरेको छ।
तामाङले २०६१ चैत २२ गते भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको प्रहरीले जनाएको छ। जिल्ला अदालत चैनपुरले उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।
संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान चलाएको बताए।
