अपाङ्गता भएकाहरु पढ्ने बहिरा स्कुलको के छ अवस्था?
विराटनगर। विराटनगर महानगरपालिका–५ कोचाखालस्थित विराटनगर बहिरा माध्यमिक विद्यालयले अपाङ्गता भएका विद्यार्थीलाई शिक्षा र सीपमूलक तालिम दिइ योग्य बनाउने काम गरिरहेको छ। २०६२ सालमा स्थापित यो विद्यालयले धेरै विद्यार्थीलाई रोजगार पनि बनाएको छ। विद्यालयको अवस्था र यसैको सेरोफेरोमा रहेर प्रधानाध्यापक मिनु अधिकारी दाहालसँग कुराकानी गरिएको छ। प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

विद्यालयमा हाल कहाँ कहाँका विद्यार्थी अध्ययनरत् छन्?
अहिले यहाँ २२ जिल्लाका विद्यार्थी छन्। कोशी प्रदेशका सबै जिल्लाका साथै अरु जिल्लाबाट आएका विद्यार्थीहरु पनि अध्ययन गरिरहेका छन्।
कस्ता खालका अपाङ्गता भएका विद्यार्थी छन्?
हाल विद्यालयमा २५५ जना विद्यार्थी छन्। यहाँ बहिरा, सुस्त मनस्थिति भएका, विशेषगरी बोल्न नसक्ने, सुन्न नसक्ने (बहिरा) नै छन्।
छात्राबसको व्यवस्था पनि छ?
छात्राबासको व्यवस्था छ। जसको घर नजिकै छ, उहाँहरु बस्नु हुन्न। टाढाबाट आएकाहरुका लागि बस्न छात्राबासको सुविधा छ।
शिक्षक, शिक्षिका कति छन्?
यहाँ जम्मा १६ जना शिक्षक, शिक्षिका छौं। १० जना महिला ६ जना पुरुष कार्यरत छौं।
विद्यालय सञ्चालनका लागि कहाँ कहाँबाट सहयोग आउँछ?
मुख्य रुपमा सरकारी निकायबाट, अन्य सहयोगी व्यक्ति र संघसस्थाबाट सहयोग आउँछ। समुदायका विभिन्न व्यक्तिबाट पनि सहयोग जुट्ने गरेकोछ। यो विद्यालय सार्वजनिक गुठीअन्तर्गत छ।
विद्यालयको शिक्षा पूरा गरेपछि विद्यार्थी थप अध्ययन गर्न कहाँ जान्छन्?
कक्षा १२ सम्म यहीँ पढ्छन् त्यसपछि थप अध्यनका लागि काठमाडौं जान्छन्। १२ सक्दा लगभग धेरै कुरा जानिसकेका हुन्छन्। काम गर्न पनि थालेका छन्। हामीले या पनि भरखरैबाट होटल व्यवस्थापन विषय पनि पढाउन सुरु गरेका छौं।
विद्यार्थीका लागि पढाईबाहेक अतिरिक्त क्रियाकलाप के के छन्?
एउटा, पढ्दै कमाउँदै भने कार्यक्रम पनि छ। बच्चाहरुले ब्लकहरु बनाउने गर्छन्। सिलाइकटाई पनि सिक्छन्। खेलकुद प्रतियोगिताहरुमा पनि सहभागी हुने गरेका छन्।
के भन्छन् विद्यार्थी?
नमूना अधिकारी, कक्षा ७

म कक्षा १ देखि नै यहाा पढ्न थालेको हो। मलाई यहाँको पढाई राम्रो लाग्छ शिक्षकहरुले मलाई संकेतबाट नै सिकाउनु हुन्छ, मन पर्छ। भविष्यमा मलाई शिक्षक बन्ने रहर छ। मेरो घर नजिकै भएकोले घरबाटै आउने जाने गर्छु।
बिनिता बिक

म पहिले भोजपुरमा बस्थें। यहााँ आएको २ वर्ष भयो। यहाँको पढाई राम्रो लाग्छ। मन पर्छ। शिक्षकले सबै सिकाउनु हुन्छ। भविययमा के बन्ने भन्ने त्यस्तो कुनै योजना सोचेको छैन। होस्टेलमै बस्ने रेको छु।
सन्तोष राई

म पहिले बझाङमा पढ्थें। यहाँ आएको २ वर्ष जति भयो। यहाँको पढाई राम्रो लाग्छ मलाई। होस्टलमै बसेर पढिरहेको छु। भविष्यमा के बन्ने भन्ने अहिले सोचेको छैन।
कृष्ण राजवंशी

पहिले जनता स्कूलमा पढ्थें। ६–७ वर्षदेखि यहाँ छु। यहाँको पढाई ठिक छ, राम्रो लाग्छ मलाई। शिक्षक नियमित आउनु हुन्छ र राम्ररी सिकाउनु हुन्छ। मलाई घर बनाउन मन पर्छ।
