विराटनगरको क्यासिनोमा दुई समूहबीच कुटाकुट

विराटनगर। विराटनगरको रत्ना होटलस्थित सम्राट क्यासिनोमा दुई समूहबीच कुटाकुट भएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि त्यहाँ नेपालीहरुकै दुई समूहबीच कुटाकुट भएको हो।

उक्त घटनामा आपराधिक पृष्ठभूमिका अभिषेक गिरी कुटिएका छन्। आइतबार राति १२ बजे क्यासिनो परिसरमा रोनाल कँडेल र किरण लामासँग अभिषेक गिरी सहितको समूहको कुटाकुट भएको प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँग विवादपछि दुई समूहबीच कुटाकुट भएको हो। कँडेल समूहले गिरीलाई गमलाले प्रहार गरेको जनाइएको छ। उनको टाउकोमा चोट छ।

सूचना पाएर प्रहरी घटनास्थल पुग्दा दुबै समूह बाहिरिइसकेका थिए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घटनाको अनुसन्धान भइरहेको बताए। आफूमाथि कुटपिट भएको भन्दै निकेश गिरीले रोनाल कँडेल र किरण लामाविरुद्ध जाहेरी दिएको उनले जानकारी दिए।

कुटाकुटपछि गिरीको समूह लामा र कँडेललाई खोज्दै उनीहरुको घर पुगेको थियो । दुवै पक्ष मिटरब्याज र असुलीको धन्दामा संलग्न रहेको प्रहरी स्रोतले बतायो। उनीहरु जग्गा कारोबार र ठेक्कापट्टामा पनि संलग्न छन्।

लामा नेकपा (एमाले) मोरङको नवनिर्वाचित सदस्य हुन्। उनलाई यसअघि विभिन्न घटनामा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो।

कँडेल पनि पटकपटक विवादमा आइरहन्छन्। २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो। २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो। २०७७ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरी छुटेका अभिषेक गिरीमाथि नेपाली कांग्रेसका नेताहरुले संरक्षण दिंदै आएका छन्। गिरी युवती प्रयोग गरेर फिरौती मागेको आरोपमा २०७१ साउन तेस्रो साता पक्राउ परेका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानपछि गिरी गत २०७९ चैत ६ गते कारागारबाट छुटेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *