स्कुल बसको ठक्करले बालिकाको मृत्यु

विराटनगर। मोरङको सुनवर्षी नगरपालिका–१ कमलपोखरीमा स्कुल बसको ठक्करले एक बालिकाको मृत्यु भएको छ। प्याराडाइज बोर्डिङ स्कुलको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले साइकलमा यात्रा गरिरहेकी बालिकालाई ठक्कर दिएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा स्थानीय राजकुमार परियारकी छोरी ९ वर्षीया सञ्जुको मृत्यु भएको हो।

केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको साइकललाई आइतबार साँझ ५ बजेतिर ठक्कर दिँदा बालिका घाइते भएकी थिइन्।

उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए। प्रहरीले बस र चालक मोरङको सुनवर्षी–१ शुक्रबारेका ३६ वर्षीय राजेन्द्र राईलाई नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *