कोशीले गण्डकीलाई ९ विकेटले हरायो
काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। गण्डकीले दिएको ३२ रनको लक्ष्य कोशीले १ विकेट गुमाएर २ सय ५० बलअघि नै भेटायो।
कोशीका शकिब हकले नटआउट १६ रन बनाए। गण्डकीका सुवाश भण्डारीले १ विकेट लिए। त्यसअघि रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकी २० ओभर ४ बलमा ३१ रनमै अलआउट भयो।
प्रधानमन्त्री कप क्रिकेट इतिहासमा यो सबैभन्दा कम योगफल हो। यसअघि गत वर्षको संस्करणमा गण्डकीसँगको खेलमा कोशी २५ रनमै अलआउट भएको थियो।
आजको खेलमा गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ९ रन बनाए। कोशीका विपिन महतोले ६ विकेट लिए।
योसँगै कोशीले पाँचौं खेलमा पहिलो जीत हात पारेको छ भने गण्डकीले चार खेलमा तेस्रो हार बेहोरेको छ।
