विद्यार्थीले माग स्ववियु निर्वाचन समिति संयोजकको राजीनामा
काठमाडौं। विद्यार्थी संगठनहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा. डा. कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका छन्।
निर्वाचन समिति पूर्वाग्रही देखिएको उनीहरुको आरोप छ। नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन्।
निर्वाचन समितिका संयोजक न्यौपानेले उम्मेदवार मनोनयमा अवरोध गरेको, प्रशासनिक चलखेल एवं अन्यायपूर्ण हस्तक्षेप गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन्।
त्रिविस्थित निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी जारी राखेकाले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियम (स्ववियु) निर्वाचन अन्योलमा परेको छ। यसैगरी विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलगायत देशका विभिन्न क्याम्पसहरुमा पनि विवादका कारण तालाबन्दी र तोडफोडका घटना हुँदै आएको छ।
