महेन्द्र मोरङमा तोडफोड, स्ववियु सभापतिसहित ६ जना पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ।

उनीहरुले सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर कुर्सी र सूचनापाटी तोडफोड गरेका थिए। निर्वाचन कार्यालयको ताला समेत तोडेर भित्र प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

स्ववियु सभापति विराटनगर–१० का २८ वर्षीय जसवन्त पौडेल, स्ववियु सचिव विराटनगर–३ का २७ वर्षीय सनिम ठकुरी, स्ववियु सदस्यहरु विराटनगर–१२ का २८ वर्षीय प्रज्वल अधिकारी र २७ वर्षीय रोशनकुमार पासवान तथा क्याम्पसकै विद्यार्थीहरु विराटनगर–७ का २० वर्षीय नवीन तिवारी र १९ वर्षीय तिलक खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। पक्राउ परेकाहरु नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आबद्ध हुन्।

महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेविसंघमा विवाद छ। संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले क्याम्पसमा विरोध गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *