‘नो केबलबार समूह’ लाई सरकारले फेरि वार्तामा बोलायो
विराटनगर। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोध गरिरहेका ‘नो केबलकार समूह’ लाई सरकारले फेरि वार्तामा बोलाएको छ।
सरकारी वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले शुक्रबार मुक्कुमलुड ताङ्सेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय संघर्ष समितिलाई पत्र लेख्दै वार्तामा बोलाएका हुन्।
गृह मन्त्रालयका सहसचिव भट्टराईद्वारा हस्ताक्षरित पत्रमा समस्याको शान्तिपूर्ण समाधान गर्न सरकार तयार रहेकाले वार्ताका लागि आन्दोलनरत पक्षका तर्फबाट ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई पनि आह्वान गरिएको छ।
आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक एवं सांस्कृतिक तथा स्थानीय समुदायका मागहरूका सन्दर्भमा सरोकारवालासँग वार्तामार्फत् समस्याको शान्तिपूर्ण समाधानका लागि वार्तामा बस्न पत्रमा भनिएको छ।
सरकार र आन्दोलनरत पक्षबीच यसअघि पनि वार्ता भएको थियो। आन्दोलनरत पक्षको वार्ता सहजीकरण समिति र सरकारबीच माघ २२ गते पहिलो पटक वार्ता भएको थियो।
त्यसपछि पनि वार्ता भएको थियो तर सहमति जुट्न नसक्दा कुनै निष्कर्ष निस्कन सकेको छैन। आफूहरुले भनेअनुसार सरकारले सहमति नगरेपछि असन्तुष्ट पक्ष ‘नो केबलकार’ भन्दै निरन्तर आन्दोलनमा छ।

