‘दुस्मनलाई पनि आफ्नो बनाउने पर्व हो होली’
विराटनगर। देश–विदेशमा यतिबेला होली (फागु) पर्वको रमझम छ। आज बिहीबार हिमाल, पहाड र काठमाडौं उपत्यकामा उत्साहजनक रुपमा होली मनाइएको छ। भोलि शुक्रबार तराईका जिल्लामा उत्तिकै हर्षोल्लासका साथ होली मनाइँदैछ ।
होली पर्वमा बालबालिकादेखि युवक र वृद्धवृद्धासम्म उत्तिकै रमाउने गर्छन्। आपसमा रंग, अबीर दलेर, मिठा खानेकुरा खाएर शुभकामना आदान प्रदान गर्ने अनि नाचगान गरेर रमाइलो गर्ने चलन छ।
अचेल कतिपय संस्थाहरुले शुभचिन्तकहरुलाई निमन्त्रणा गरी सामूहिक रुपमा होली मनाउने चलन पनि निकै बढेको छ। साथीभाइ र आफन्त मिलेर समूह समूहमा होली खेल्ने र रमाइलो गर्ने चलन पनि उत्तिकै छ।
होली पर्व अथवा फागू पूर्णिमा खासगरी नेपाली तथा भारतीय हिन्दूहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमाका दिनमा मनाउने प्रमुख पर्व हो। हिन्दू संस्कृतिअनुसार यसको इतिहास त्रेता युगसँग जोडिएको छ।
यसै सन्दर्भमा विराटनगरका केही बासिन्दासँग होलीको सन्दर्भमा कुराकानी गरिएको छ। कतिपयले अचेल मनाइने होली पहिलेजस्तो रमाइलो नहुने अनुभव सुनाएका छन्।
विराटनगर महानगरपालिका–६ रामपुरका धर्म पोखरेल यसरी आफ्नो अनुभव सुनाउँछन्–
‘पहिला हामी बिहानै मालपुवा पकाएर भगवानलाई भोग लगाएर अनि अबीरको टीका लगाएर मिष्ठान्न भोजनहरु पकाएर साथीभाई इष्टमित्रसँग बसेर खन्थ्यौं। अचेलको होली पनि ठिकै लाग्छ तर पहिलाको जस्तो त्यति खास चाहिँ लाग्दैन।
यसैगरी, रामपुरकै कृष्णमाया मिश्र एकअर्कालाई अबीर लगाएर होलीको शुभकामना दिने, परिवारसँग बसेर मिठो खाने गर्दा होलीको रमाइलो हुने सुनाउँछिन्। पहिले होली निकै महत्वका साथ मनाइने गरेको उनको अनुभव छ।
अचेल होलीमा पनि विकृति आएको अनुभव गर्ने उनी भन्छिन्, ‘अचेलको त होली खासै रमाइलो लाग्दैन। कोही युवा त छैनन् गाउँमा। पहिला पहिला त युवाहरु मिलेर मट्का फुटाउने कार्यक्रमहरु गर्थे। अचेल त खै कतै खासै त्यस्तो केही देख्दिनँ। अचेल मदिरा खाएर होहल्ला गर्ने, झगडा गर्ने जस्ता विकृति पनि देखिन्छन्।’
विराटनगर–११ पिचराकी सिसम दाहाल होली भन्नेबित्तिकै रंगको रमाइलो पर्व भएकाले रमाइलो हुने बताउँछिन्। दाहाल भन्छिन्, ‘होलीको दिन म रंग लगाएरै बिहानीको सुरुवात गर्छु। बिहान उठेर बाबा ममीलाई अबीर लगाएर एक अर्कालाई मिठाई खुवाएर रमाइलो गरिन्छ।’
मिठाईको स्वाद जस्तै जीवनमा मिठास् छाओस् भन्दै एक अर्कालाई रंग लगाएर होलीको शुभकामना दिँदै दिनको सुरुवात गर्ने उनी बताउँछिन्। त्यसैगरी, साथीभाईसँग रमाइलो गर्दै रंग लगाएर अनि नाचगान गरेर होली मनाउने गरको दाहालको भनाइ छ।
रंग र अबीर मात्र लगाएर खेलिने होली रमाइलो हुने भए पनि पानी छ्यापेर खेलेको उनलाई मन पर्दैन। मदिरा पिएर, ठूल्ठूलो आवाजमा माइक घन्काएर होहल्ला गरेको चाहिँ दाहाललाई पटक्कै मन पर्दैन।
हाटखोलाका कुमार गिरि साथीभाई र आफन्तसँग रंग, अबीर दलेर, शुभकामना साटासाट गरेर रमाइलो गरी होली मनाउने गरेको बताउँछन्। यसपटक होलीको अवसरमा एउटा कार्यक्रम पनि आयोजना गरेको उनले बताए । ‘म्यूजिकल चेयर’ जस्ता रमाइलो खेल समूहमा खेलाएर होली मनाउने योजना उनको छ।
रंगहरुको पर्व भएकाले होली एकदम रमाइलो लाग्ने गिरि बताउँछन्। अरु बेलाका रिसराग र बेमेल बिर्सिएर होलीमा सबै समुदाय रमाउने गरेको उनको अनुभव छ। ‘यो निकै रमाइलो पर्व हो’ उनी भन्छन्, ‘दुस्मनलाई पनि आफ्नो बनाउने पर्व जस्तो लाग्छ होली।’
