विराटनगरको अरनिकोले जित्यो प्रदेशस्तरीय क्रिकेटको उपाधि
विराटनगर। हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा सम्पन्न प्रथम कोशी प्रदेशस्तरीय अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको अरनिको कलेजले जितेको छ।
विराटनगरको वैजनाथ क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा विराटनगरकै ग्रीनल्याण्ड कलेजलाई ६४ रनले पराजित गरेर अरनिकोले उपाधि रक्षा गरेको हो। अन्तिम स्पर्धामा टस जितेर ब्याटिङ गरेको अरनिकोले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको स्कोर बनाएको थियो अरनिकोका सोनु साहले ४४ रन बनाउँदा नुमिर अहमदले ३६ रन र सौरभ झाले २३ रनको योगदान दिए।
ग्रीनल्याण्डका गणेश यादवले ३ विकेट लिँदा सुनील यादव र गौरीशंकर यादवले २–२ विकेट लिए। १ सय ४४ रनको लक्ष्य पछ्याएको ग्रीनल्याण्ड निर्धारित १८ दशमलव ४ बलमा सबै विकेट गुमाउँदै ७९ रनमा सीमित भयो।
ग्रीनल्याण्डका हेमन्त मेहताले १८ रन बनाउँदा सुनील यादवले १३ रनको योगदान दिए। अरनिकोका रामनारायण यादवले ३ विकेट लिँदा अमर यादवले पनि ३ विकेट लिए।
फाइनल खेलको प्लेयर अफ दी फाइनल अरनिकोका नुमिर अहमद घोषित भए। प्लेयर अफ टुर्नामेन्ट ग्रीनल्याण्डका गणेश यादव भए। त्यस्तै, उत्कृष्ट ब्याटर अरनिकोका रुद्रप्रताउ साह घोषित हुँदा उत्कृष्ट बलर अरनिकोकै अमर यादव घोषित भए।
फागुन २६ गतदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका मोरङ, सुनसरी र झापाका ६ टिमको सहभागिता थियो। विजयी हुनेहरुलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखेल, हिसान कोशी अध्यक्ष ज्ञानबहादुर खड्का र हिसान मोरङका पूर्वअध्यक्ष बलराम पन्तलगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरे।
