फाइनलमा आमनेसामने हुँदै चर्च ब्वाइज र थ्रीस्टार : दुवैको दाबी, ‘जित्छौं’

विराटनगर। विराटनगरमा जारी नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता भोलि बुधबार सकिंदैछ। भोलि हुने फाइदल खेलको विजेताले उपाधि हात पार्नेछ।

उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लब सहिद मैदानमा आमनेसामने हुँदैछन् । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो। सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले पन्छाउँदै उसले फाइनलमा स्थान बनाएको हो।

यस्तै, थ्रीस्टार दोस्रोपटक विराट गोल्डकपको उपाधि उचाल्ने योजनामा छ । थ्रीस्टार सेमिफाइलनमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै उपाधिनजिक पुगेको हो। थ्रीस्टारले क्वाटर फाइनलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले हराएको थियो।

बुधबार साँझ ६ः३० बजेपछि सुरु हुने फाइनल खेलमा दुवै टिम उपाधि हात पार्ने लक्ष्य साथ मैदानमा उत्रने छन्।

यसैबीच, मंगलबार सहिद रंगशालमा मंगलबार भएको ‘प्री–म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्ने दाबी गरेका छन्। चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलोपटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए।

चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। पहिलोपटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे।

फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टिमको सहभागिता थियो। प्रतियोगितामा पुरस्कारबापत विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पाउने छन् । सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार तथा उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई १५–१५ हजार रुपैयाँ दिइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *