रहेनन् ‘हेडसर’ का छोरा प्रदीप श्रेष्ठ
इलाम। इलाम नगरपालिका–७ निवासी प्रदीप श्रेष्ठको ६४ वर्षको उमेरमा निधन भएको छ। मंगलबार बिहानका राति उनको घरमै निधन भएको हो।
‘हेडसर’ का रूपमा सबैले सम्मान गर्ने दिवंगत शिक्षाविद् देवीदास श्रेष्ठका जेठा छोरा प्रदीप केही समययता बिरामी थिए। सदरमुकामस्थित आदर्श माध्यमिक विद्यालयमा लामो समयसम्म प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गरेका हेडसर सबैमाझ लोकप्रिय थिए।
भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेकामा चिकित्सकको सल्लाह अनुसार उनलाई घर ल्याइएको थियो। दिवंगत श्रेष्ठका श्रीमती ममता श्रेष्ठ, छोरा अक्षय र छोरी प्रकृति छन्। सदरमुकाममा व्यवसाय गर्दै आएका उनी सामाजिक काममा पनि सक्रिय थिए। सबैसँग नरम पाराले बोल्ने अनि सहयोगी स्वभावका उनको निधनप्रति दुःख व्यक्त गरिएको छ।
उनको आजै बिहान ११ बजे माईखोलाको राजदुवाली घाटमा अन्तिम संस्कार गरिने उनका पारिवारिक नातेदार विमल वैद्यले जानकारी दिए।
यसैबीच, श्रेष्ठको निधनमा शोक व्यक्त गरिएको छ। उनलाई नजिकबाट चिन्ने इलामका अग्रज पत्रकार एवं राजनीतिकर्मी धीरेन चेम्जोङले निधनको खबरले स्तब्ध र दुःखी बनाएको उल्लेख गरेका छन्।
