होली पर्व सभ्य रूपमा मनाउन मोरङ प्रशासनको आग्रह

विराटनगर। नजिकिँदै गरेको रंगहरुको पर्व होली पर्वका अवसरमा कुनै पनि अवाञ्छित गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना जारी गरी सभ्य, भव्य र सुसंस्कृत रूपमा होली मनाउन आग्रह गरेका छन्।

होली पर्वको शुभकामनासमेत दिँदै यादवले पर्व मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्। यसवर्ष फागुन २९ गते पहाडको र चैत १ गते तराईको होली परेको छ।

पर्व मनाउँदा एकअर्काको इच्छाविपरीत जबरजस्ती गर्न खोजे कानुनी कारबाहीको विषय बन्नेतर्फ उनले सचेत गराएका छन्। इच्छाविपरीत जबरजस्ती रंग र लोला हान्ने तथा फोहोर छ्याप्ने, बाटोमा हिँड्ने यात्रीलाई दुःख एवं कष्ट र हैरानी दिने, बाटो अवरोध गरी सवारीसाधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउनेजस्ता कार्यलाई प्रशासनले गैरकानुनी भनेको छ।

यस्तै, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, सार्वजनिक स्थानहरुमा होहल्ला नगर्न, चर्काे आवाजमा बाजा नबजाउन प्रशासनले आग्रह गरेको छ। कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न नगराउन एवं स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर होली खेल्न प्रशासनको आग्रह छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *