बारीबाट १२ हजार भोल्टको तार, करेन्ट लागेर युवतीको मृत्यु
सांकेतिक तस्बिर
विराटनगर। हराएको बाख्रो खोज्न जाँदा मोरङको मिक्लाजुङ गाउँपालिका–१ की १८ वर्षीया अनामिका राईको आइतबार मृत्यु भएको छ। शनिबारदेखि हराएको बाख्रा खोज्न जाँदा करेन्ट लागेर उनको मृत्यु भएको हो।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार हजुरबुवा धनवीरसँग उनी बाख्रा खोज्न गएकी थिइन्। त्यस क्रममा बिजुलीको खम्बाको फेदमा बाख्रा मरेको भेटिएको थियो।
मरेको बाख्रोलाई तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। त्यहीँको बारी भएर तानिएको बिजुली तारमा १२ हजार भोल्ट करेन्ट प्रवाह भइरहेको अवस्थामा बिजुलीको ‘ब्यारेल’ भाँचिएर करेन्ट प्रवाह भएको पाइएको छ। त्यही करेन्टले बाख्राको पनि मृत्यु भएको थियो।
नातिनीलाई जोगाउन खोज्दा सामान्य करेन्ट लागे पनि हजुरबुवा भने सकुशल रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले घटनाबारे अनुसन्धान थालेको छ।
