विराटनगरमा लिफ्टसहित अपाङ्गमैत्री वडा कार्यालय भवन
विराटनगर। विराटनगर महानगरपालिका १ नम्बर वडा कार्यालयको नवनिर्मित नयाँ भवनको उद्घाटन गरिएको छ। पहिले कार्यालय रहेकै स्थानको पश्चिमतर्फ नयाँ भवन बनाइएको हो।
हाल भवन बनाइएको स्थानमा दमकल राख्ने ‘वारुणयन्त्र भवन’ थियो। जीर्ण भइसकेको उक्त भवनलाई भत्काएर वडा कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण गरिएको हो।
भवनमा विराटनगर महानगरपालिकाको २ करोड २ लाख ३६ हजार ९ सय ४५ रुपैयाँ लगानी भएको जनाइएको छ। नवनिर्मित ३ तल्ले भवन २ हजार १ सय १३ स्क्वायर फिटको छ।
भुइँतल्लामा १२ कोठासहित २ वटा सटरहरु छन्। माथिल्लो २ तल्लामध्ये पहिलोमा १२ कोठा र सबभन्दा माथिल्लो तल्लामा बैठक कक्ष, स्टोरलगायत राखिएको छ। नवनिर्मित अपाङ्गतामैत्री भवनमा लिफ्टसमेत राखिएको छ।
नवनिर्मित भवनको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरेका छन्। कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, ८ का अध्यक्ष राम पोखरेल, १९ का श्याम घिमिरे, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित कार्यपालिका र वडा सदस्यहरुको उपस्थिति थियो।
